समाचारबुधबार, चैत्र २६, २०७०
‘पिआर र ग्रीन कार्ड लिनेलाई कार्वाही गर्न नसके मन्त्री पद छोड्छु’
२६ फागुनमा विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले निजामती सेवामा रहेर विदेशको डिभी र पिआर लिनेको नामावली सङ्कलन अन्तिम चरणमा पुगिसकेकाले चाँडै नामावली सङ्कलन गरेर कारबाहीको प्रक्रिया अगाडि बढाइने बताए ।
कसैले दबाब दिएकै र गाली गरेकै भरमा आफूले उठाएको मुद्दाबाट पछि नहट्ने बरु काम गर्न नसके मन्त्री पद नै त्याग गर्ने बताए ।
देशको सेवा गर्छु भन्नेले पैसा कमाउनकै लागि डिभी र पिआर लिँदा नेपालीको स्वाभिमानमा आँच आएकाले त्यस्तो कार्य गर्नेलाई एकपल्ट सच्चिने मौका दिने र नमान्नेलाई राज्यघातको आरोपमा कानूनी कारबाही थाल्ने मन्त्री पण्डितको भनाई छ ।
मन्त्री पण्डितले दोहोरो नागरिकता र स्थायी बसोबासको अनुमति लिने सरकारी कर्मचारीको नामावली उपलब्ध गराउन विदेशी राजदूतसँग पनि कुरा गरिसकेकाले जुनसुकै शक्ति आए पनि उनीहरु कारबाहीबाट जोगिन नसक्ने बताए ।
दुई वटा नेपाली नागरिकता लिने सामान्य नेपालीले देशभित्रै कारबाही भोग्नुपर्ने कानून रहेको तर देशको सेवा गर्छु भनेर निजामती सेवामा भर्ना हुने अनि पैसा कमाउनका लागि विदेश भासिने राष्ट्रघाती भएको भन्दै भन्दै उनीहरुलाई कारबाही नगरेसम्म नेपालको निजामती प्रशासन सुधार नहुने मन्त्री पण्डितले बताए ।
निजामती सेवामा सुधार ल्याउनका लागि ऐन संसोधन गर्न लागेको जानकारी गराउँदै मन्त्री पण्डितले सरकारी सेवा सुविधाको दुरुपयोग गरेर नाजायज फाइदा लिने जो कोही कर्मचारीलाई आफूले कारबाहीको दायरामा ल्याएरै छाड्ने दाबी गरेका थिए ।
रासस
