समाचारबुधबार, चैत्र २६, २०७०
विराटनगर–शतवार्षिकोत्सव समारोह राष्ट्रपतिद्वारा उदघाटन (तस्वीरसहित)
कार्यक्रम स्थललाई मात्रै सिंगारेर विराटनगर उपमहानगरपालिकाको शतवार्षिकोत्सव समारोह उद्घाटन गरिएको छ ।
राष्ट्रपतिको सवारी आउने रुटका चोक र सडक सफा गरिए पनि स्थापनाको एकसय वर्ष पुगेको विराटनगर नगरलाई उपमहानगरपालिकाले सफा पार्न सकेको छैन ।
ठाउँठाउँमा खुल्ला ढल, सडकको फोहर, अञ्चल अस्पताल, जिविस, जनस्वास्थ्य कार्यालय, रक्त संचार केन्द्र, राष्ट्र बैंक जस्ता महत्वपूर्ण संस्थाका अगाडी खुल्ला नालाबाट निक्लने गन्ध उस्तै छ ।
राष्ट्रपति यादव सुशीला नाटकघरको निरीक्षणमा जाँदा अघिल्तिरको नाला उदांगै थियो । उपमहानगरपालिकाका ठूला नालाका स्ल्याव (ढक्कन) भत्किएको धेरै वर्ष भईसकेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रपति यादवले शतवार्षिकोत्सव उद्घाटन र समापनमा मात्रै सिमित हुननहुने बताए । उनले धेरैखाले क्रान्ति शुरु गरेको विराटनगरमा अब आर्थिक क्रान्ति गरिनु जरुरी रहेकोमा जोड दिए ।
कार्यक्रममा राष्ट्रपति यादवले देशका लागि योगदान दिएका धेरै विराटनगरबासीको नाम लिए । “धेरै युगपुरुषहरु विराटनगरले जन्माएको छ, सप्तकोसीको पानीले सिञ्चित भूमी भएकाले विराटनगर पबित्र छ,” उनले भने ।
कार्यक्रममा उपप्रधानमन्त्री प्रकाशमान सिंहले रंगेलीबाट सदरमुकाम सरेर विराटनगर बनेकाले रंगेलीलाई पनि सरकारले ध्यान दिनु पर्ने बताए ।
विराटनगरकै वासिन्दा वनमन्त्री महेश आचार्यले विराटनगरले समृद्धिको कुरा गर्दा रंगेलीको पीडालाई पनि आफूले महशुश गरेको बताए ।
“अरु शहरको तुलनामा विराटनगरको विकासको गती सुस्त छ” विराटनगरकै स्थायीवासिन्दा सञ्चार मन्त्री मिनेन्द्र रिजालले भने, “धेरै प्रधानमन्त्री र धेरै उद्योग जन्माउने शहरको विकासको क्रम बढाउनु पर्छ ।”
वक्तामध्ये सबै भन्दा बढी ताली पाएका सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले देशको दोस्रो ठूलो शहर विराटनगर चौथोमा झर्ने क्रममा रहेको भन्दै विराटनगरको विकास प्रक्रियालाई तिव्र पार्नु जरुरी रहेको बताएका थिए ।
शब्द/तस्वीर: कमल रिमाल, विराटनगर
