समाचारशुक्रबार, चैत्र २८, २०७०
जातीयरुपमा उग्र हुन हुँदैनः सभाअध्यक्ष नेम्वाङ
नेपाल आदिवासी जनजाति महासंघले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख नेम्वाङले अघिल्लो संविधानसभामा भएका सहमति तथा राजनीतिक दलले गरेका प्रतिबद्धता र विवादित विषयमा सहमति कायम वा प्रक्रियामा गएर टुङ्गो लगाएपछि संविधान निर्माण समयमैँ हुने बताएका छन् ।
२७ चैतमा आयोजित कार्यक्रममा उनले सबै जाति समुदायको भाषा तथा संस्कृतिलाई संरक्षण गरी अधिकार स्थापित गर्नुपर्नेमा जोड दिँदै विगतमा शासकीयस्वरुप र राज्य पुनःसंरचनामा सहमति हुन नसकेका कारण संविधान आउन नसकेको विचार व्यक्त गरे ।
नेम्वाङले भने, “कुनै पनि समुदाय अधिकारका लागि जातीय रुपमा उग्र हुन हुँदैन, आदिवासी जनजातिले पनि जातीय चिन्तनभन्दा माथि उठेर मुलुकको राष्ट्रियता र सबै जातिको एकता र वर्गिय लडाईका लागि गम्भीर बन्नुपर्छ ।”
उनले देशमा संविधान आएपछि त्यसले मुलुकको विकास प्रक्रियालाई अघि बढाउने र सबैका हक हित अधिकार सुनिश्चित हुनेमा जोड दिए ।
महासङ्घका अध्यक्ष नगेन्द्र कुमालले राज्यको मुलधारमा आदिवासी जनजातिलाई प्रतिनिधित्व गराउने व्यवस्था संविधानमा सुरक्षित गर्नुपर्ने धारणा राखेका थिए ।
