थप समाचारशुक्रबार, चैत्र २८, २०७०
मुख्यमन्त्रीबाट हट्ने फैसला ग़लत थियो: केजरीवाल
भारतबाट प्रकाशित हुने ‘इकोनोमिक टाइम्स’ लाई दिएको अन्तर्वार्तामा दिल्लीका पूर्व मुख्यमन्त्री एवम आप नेता अरविन्द केजरिवालले दिल्लीको मुख्यमन्त्री पदबाट राजीनामा गर्ने निर्णय गलत सावित भएको भन्दै भविष्यमा आफ्ना फैसलाहरुमा अझै सजग रहने बताएका छन् ।
यद्दपी उनले मुख्यमन्त्री पदबाट हट्ने निर्णय सैद्धान्तिक रुपमा भने सही भएको बताए ।
केजरीवालले भनेका छन, “मुख्यमन्त्री पद छोडेकोमा पछुतो त छैन, तर जुन बेला कांग्रेस र बिजेपीले जनलोकपाल विधेयक रोके, त्यसै दिन राजीनामा गर्न भने हुँदैनथ्यो ।”
उनले राजीनामाको निर्णय गर्नुअघि केही समय जनसभा गरेर जनतालाई त्यसो गर्नु पर्ने कारण राम्रोसँग बुझाएपछिमात्रै पद छाडेको भए उचित हुने धारणा व्यक्त गरे ।
उनले भने, “आपको निर्णय र जनताकाबीच संवादहिनता हुँदा कांग्रेस र बिजेपीले त्यस्लाई दिल्ली छोडेर भागेको भन्ने आरोप लगाउँदै जनतामा भ्रम छर्न सफल भए ।”
दिल्ली विधानसभा निर्वाचनमा आपले अप्रत्याशित सफलता पाएको थियो । उसले कांग्रेसको समर्थनमा केजरीवालको नेतृत्वमा दिल्लीमा सरकार बनाएको थियो ।
आपले विधानसभामा प्रस्ताव गरेको जनलोकपाल विधेयक पास नभएपछि मुख्यमन्त्री भएको ४९ दिनमै केजरीवालले राजीनामा गरेका थिए ।
अहिले भारतमा लोकसभाको निर्वाचन जारी छ, विपक्षी दलहरुले केजरीवाललाई जिम्मेवारीबाट पञ्छेको आरोप लगाउँदै आएका छन् ।
