समाचारशुक्रबार, चैत्र २८, २०७०
ज्ञानेन्द्र शाह सिमरामा
बारा र पर्सालगायतका स्थानमा रहेका बिभिन्न मठ मन्दिरहरुमा दर्शन र पूजा–पाठका लागि भन्दै पूर्वराजा ज्ञानेन्द्र शाह हवाइ मार्गबाट सिमरा आइपुगेका छन् ।
शाहको भ्रमण बारे जानकारी दिंदै उनी निकट गणेश साहले ३० चैतसम्म पूर्वराजा सिमरास्थित आफन्तको घर ‘प्रभु निवास’ मा बस्ने र नयाँ वर्षका दिन धार्मिक भ्रमणका लागि धरान जाने कार्यक्रम रहेको बताए । उनी दुई सातासम्म यतै रहने पनि गणेशले जानकारी दिए ।
सिमरा बसाइका क्रममा शाहले बारा र पर्साका विभिन्न मठ मन्दिरहरुमा पूजा अर्चना गर्ने कार्यक्रम छ ।
‘जनमत बढेको थाहा छैन’
सिमरा विमानस्थलमा सञ्चारकर्मीको प्रश्नको जवाफ दिंदै ज्ञानेन्द्रले गणतन्त्र स्थापनापछि पनि राजसंस्थाप्रति जनमत बढेको /घटेको बारे आफूलाई थाहा नभएको बताए । उनले त्यसबारे जनता नै जानकार रहेको पनि बताए ।
ज्ञानेन्द्र शाहले बराहक्षेत्रमा क्षेत्रमा महाकुम्भ मेलामा सहभागी भएपछि जनतासँग प्रत्यक्ष भेटघाट गर्ने जानकारी दिए । जनताको निम्तोमा आफू भ्रमणमा आएको बताउँदै बोलाइएको ठाउँमा जाने पनि उनले बताए । शाहको स्वागतका लागि बारा र पर्साका विभिन्न स्थानबाट उनका समर्थकहरु आएका थिए ।
श्याम गुप्ता, बारा

