समाचारआइतबार, चैत्र ३०, २०७०

कृष्णप्रसाद अधिकारी हत्या प्रकरणः अदालतमा मुद्दा दर्ता

हिमालखबर

गोरखाका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न अभियुक्तहरुविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले हत्या प्रकरणको अनुसन्धान पुरा गरी २६ चैतमा जिल्ला न्यायाधिवक्ता (सरकारी वकिल) कार्यालयमा अनुसन्धानको पूर्ण प्रतिवेदन (मिसिल) बुझाएको थियो । त्यसको चार दिनपछि अदालतमा मुद्दा दायर भएको हो ।

१३ जना प्रतिवादीहरुलाई सर्वस्व सहित जन्मकैदको माग राख्दै मुद्दा दर्ता गरिएको सरकारी वकिलको कार्यालयका प्रमुख न्यायधिवक्ता एक नारायण भण्डारीले जानकारी दिए । उनीहरुमाथि मुलुकी ऐनको ज्यान सम्बन्धी महलको १३.३ बमोजिम कार्वाहीको माग  गरिएको छ ।

किटानी जाहेरीमा नाम उल्लेख नभएका जानुका पौडेल र रुद्र आचार्यलाई पनि प्रतिवादी बनाई अभियोग पत्र दर्ता भएको चितवन जिल्ला अदालतका श्रेष्तेदार विद्याराज पौडेलले जानकारी दिए ।

त्यसैगरी किटानी जाहेरीमा परेका छविलाल पौडेल, भिमसेन पौडेल, रामप्रसाद अधिकारी, परशुराम पौडेल, कालिप्रसाद अधिकारी, हिमलाल अधिकारी, सीता अधिकारी, रामप्रसाद अधिकारी, मेघनाथ पौडेल, सुभद्रा तिवारी र विष्णु तिवारीलाई पनि प्रतिवादी बनाइएको छ ।

सरकारी वकिलको कार्यालयले प्रहरी हिरासतमा रहेका पौडेलद्वयसहित मिसिल अदालत पेश गरेको थियो ।

सोमबार (१ बैशाखमा) नयाँ बर्षको विदा परेकाले अदालतले २ बैशाखमा अभियुक्तहरुसँग बयान लिइ थुनछेकको आदेश दिन सक्नेछ । प्रहरी अनुसन्धानबाट हत्यामा संलग्नता देखिएका १५ मध्ये दुइजनाको मृत्यु भइसकेको छ भने दुइजना छबिलाल पौडेल र भीमसेन पौडेल प्रहरी हिरासतमा छन् ।

अदालतमा दायर गरिएको मुद्दाको मिसिलमा अहिले बेलायतमा रहेका रुद्र आचार्यको नाम समेत रहेकाले अदालतले फरार अभियुक्तहरुविरुद्ध पक्राउ पूर्जी जारी गर्न सक्छ । त्यसो हुँदा अपराध सम्बन्धी प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल) ले उनी विरुद्ध रेडकर्नर नोटिस जारी गर्न सक्नेछ ।

हजुरबा–हजुरआमालाई भेट्न गोरखाबाट चितवन आएका कृष्णप्रसादको २४ जेठ २०६१ मा माओवादी कार्यकर्ताहरुले अपहरण गरी हत्या गरेका थिए ।

छोराका हत्याराहरुमाथि कारबाहीको माग गर्दै महिनौंदेखि अनशनरत उनका बाबुआमा नन्दप्रसाद र गंगामाया पछिल्लोपटक करिब ७० दिनदेखि वीर अस्पतालमा अनशनरत छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>