समाचारसोमबार, बैशाख १, २०७१
अधिकारी दम्पतीलाई अनसन तोड्न नागरिक अगुवाहरुको आग्रह
नागरिक अगुवाहरुले १ बैशाखमा विज्ञप्ति जारी गर्दै गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको २०६१ जेठमा भएको हत्याका आरोपी विरुद्ध सरकारले ३० चैतमा चितवन जिल्ला अदालतमा मुद्दा दायर गरेकोमा स्वागत गरेका छन् ।
उनीहरुले छोराका हत्यारालाई कार्वाहीको माग गर्दै वीरअस्पतालमा १७१ दिनदेखि अनशनरत कृष्णप्रसादका माता-पिता गंगामाया र नन्दप्रसाद अधिकारीलाई अदालती प्रक्रिया शुरु भएको भन्दै अनशन तोड्न पनि आग्रह गरेका छन् ।
सुशील प्याकुरेल, चरण प्रसाइँ, दिनेश त्रिपाठी, अमुदा श्रेष्ठ, कनकमणि दीक्षित, सुरेश भट्ट, राशना ढकाल र यज्ञ थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “राजनीतिक दबाबका बाबजूद फौजदारी जवाफदेहीको पक्षमा उभिएकोमा हामी सरकारलाई धन्यवाद दिन्छौं।”
कृष्णप्रसादको हत्याका आरोपीविरुद्ध मुद्दा दर्ता हुनुले समाजमा दण्डहीनता फैलाउन लागिपरेकाहरुलाई गहकिलो सन्देश दिएको र हिंसात्मक द्वन्द्वका बेला भएका अपराधका घटनालाई राजनीतिक रंग लगाएर माफी दिने कार्य स्वीकार्य नहुने विज्ञप्तिमा भनिएको छ।
मुद्दामा निरन्तर निगरानी राखिने र हाल उत्तरी आयरल्याण्डमा रहेका भनिएका अभियुक्तमध्येका एकलाई नेपाल सुपुर्दगी गरी अदालतमा पेश गर्ने सन्दर्भमा पनि निगरानी रहने विज्ञप्तिमा उल्लेख छ ।
चितवन सरकारी वकिलबाट दायर भएको मुद्दा सर्वोच्च अदालतको निर्णय अनुसार भएको र प्रस्तावित सत्यनिरुपण तथा मेलमिलाप आयोग गठनको प्रक्रियालाई लिएर फौजदारी अभियोगहरुलाई ओझेलमा पार्न नमिल्ने पनि विज्ञप्तिमा भनिएको छ ।
