समाचारमंगलबार, बैशाख २, २०७१
एमाओवादीद्वारा सर्वदलीय बैठक बहिस्कार
संविधान लेखन, २६ सभासद्को मनोनयन, सत्यनिरुपण तथा मेलमिलाप आयोग विधेयकका विषयमा छलफल गर्न प्रधानमन्त्री सुशील कोइरालले बालुवाटारमा बोलाएको सर्वदलीय बैठक एमाओवादीले बहिस्कार गरेपछि कुनै निर्णय नभएको नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले बताएका छन् ।
उपसभापति पौडेलले संविधान निर्माणको विषयमा विपक्षीको विरोध हुन नहुने र त्यस्तो अवरोध भए पनि संविधान निर्माणका विषय अघि बढाउनुपर्ने धारणा अधिकांश दलका नेताले राखेको जानकारी दिए ।
उनले गोरखा फुजेल घटना प्रकरणमा दोषीलाई कारबाहीको प्रक्रिया अगाडि बढाउनु एमाओवादीलाई पेल्ने नियतले नभएको भन्दै त्यस विषयलाई लिएर एमाओवादीले वार्ता बहिष्कार गर्न नहुने बताए ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दलहरुको आआफ्नै अडानका कारण समयमै संविधान बन्ने सम्भावना कम भएकामा चिन्ता व्यक्त गर्दै अपराधीलाई कानुनी कारबाही हुनुपर्ने र सङ्घीयताबिनाको संविधान जारी हुनुपर्ने धारणा राखे ।
उनले भने, “प्रमुख प्रतिपक्षको सरकारसँग गुनासो होला तर संविधानसम्बन्धी सर्वदलीय बैठकमा ऊ नआउनु उपयुक्त भएन ।”
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रमुख प्रतिपक्षी नआउँदैमा संविधान निर्माणसम्बन्धी छलफल रोक्न नहुने बताएका थिए ।
