समाचारबुधबार, बैशाख ३, २०७१
एमाओवादीद्वारा संसद वैठक अवरुद्ध
३ बैशाखको ब्यवस्थापिका संसदको बैठकमा एमाओवादी सभासद् आआफ्नो स्थानबाट उठेर विरोध गरेपछि सभामुख सुवासचन्द्र नेम्वाङले एक घण्टाका लागि वैठक स्थगित गरेका छन् ।
वैठक शुरु भएलगत्तै संसदमा बौल्दै एमाओवादी नेता बाबुराम भट्टराईले द्वन्द्वकालीन मुद्दा व्यूँताएर शान्ति प्रक्रिया भाड्ने षड्यन्त्र भएको आरोप लगाए । उनले ३० चैतमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको तीन दलको वैठकमा सत्यनिरुपण आयोग नबनुन्जेल द्वन्द्वकालको घटनामा मुद्दा नचलाउने सहमति भएको बताए ।
“कांग्रेस र एमालेले पनि मुद्दा नचलाउने बिषयमा सहमति जनाएका थिए,” भट्टराईले भने, “प्रधानमन्त्रीले के कारणले कारबाही गर्न आदेश दिनुभएको हो ?”
भट्टराईको भाषण सकिए लगत्तै एमाओवादी सभासद्हरु आआफ्नो स्थानबाट उठेका थिए ।
चितवन प्रहरीले गोरखा फुजेलका अधिकारीको हत्या आरोपमा १३ जनाविरुद्ध अदालतमा आईतबार अभियोग पत्र दर्ता गरेको थियो । १३ मध्ये दुई जना प्रहरी हिरासतमा छन् । दुवैको अदालतले वयान लिन शुरु गरेको छ ।
एमाओवादीले संसद् वैठक अवरुद्ध गरेको यो तेस्रो पटक हो ।
