थप समाचारबुधबार, बैशाख ३, २०७१
दक्षिण कोरियाः पानी जहाज समुद्रमा डुब्यो
दक्षिण कोरियाको जेजू द्वीपस्थित रिसोर्टमा अधिकांश स्कुले विद्यार्थीलाई लिएर जाँदै गरेको पानी जहाज समुद्रमा डुब्दा २ जनाको मृत्यु भएको छ भने सय बढी वेपत्ता भएका छन् । जहाजमा ४७६ जना सवार थिए ।
दक्षिण कोरियाली सञ्चारमाध्यमहरुका अनुसार अहिलेसम्म ३६८ जनालाई सुरक्षित उद्दार गरिएको छ । उद्दार कार्यमा जल सेना, तटरक्षक र हेलिकप्टरहरु संलग्न छन् ।
योनहाप समाचार एजेंसीका अनुसार जहाजमा सवार यात्रीहरुमा अधिकांश स्कुलका विद्यार्थी थिए ।
सीवोल नामको यो जहाजमा राजधानी सीओलको बाहरी क्षेत्रस्थित डानवोन हाईस्कूलका ३३० विद्यार्थी थिए ।
जहाज डुब्दै गर्दा पानीमा हामफालेका व्यक्तिहरुलाई वरपर रहेका व्यवसायिक जहाजले उद्दार गरेका थिए । दुर्घटनामा १३ जना गम्भीर घाइते भएका छन् ।
जहाजको चालकसदस्यकी एक महिला र उद्दार गरिएका एक यात्रीको मृत्यु भएको छ ।
उद्दार गरिएका एक विद्यार्थीका अनुसार जहाजको बाहिर निस्कने बाटोमा पानी भरिएपछि उनका केही साथीहरुको डुबेर मृत्यु भएको छ । दुर्घटनाको कारण अहिलेसम्म थाहा हुन सकेको छैन ।
