समाचारबुधबार, बैशाख ३, २०७१
कृष्णप्रसाद हत्या मुद्दाः थुनछेक बहस जारी
कृष्णप्रसाद अधिकारी हत्याको आरोपमा पक्राउ परेका अभियुक्तद्वय छविलाल पौडेल र भिमसेन पौडेलसँग चितवन जिल्ला अदालतले ३ बैशाखमा बयान लिएको छ ।
बयान सकिए लगत्तै शुरु भएको थुनछेक सम्बन्धी बहसमा प्रतिवादीका तर्फबाट बार एशोसिएसनका पूर्व अध्यक्ष रमण श्रेष्ठलगायत ५ जना अधिवक्ताले बहस गरेका छन् ।
प्रतिवादीका तर्फबाट बहसका लागि २५ जना अधिवक्ताले नाम लेखाएकोमा समयाभावका कारण अरुको बहस आज नसकिएपछि ४ बैशाखमा पनि हुने भएको छ ।
प्रतिवादी तर्फको बहस सकिएपछि वादीका तर्फबाट सरकारी वकिल (जिल्ला न्यायाधिवक्ता) एकनारायण लम्साल र दिनेश त्रिपाठीलगायतका अधिवक्ताहरुले बहस गर्नेछन् ।
आजको बहसको समय सकिएपछि अधिवक्ता त्रिपाठीले अभियुक्तहरुले साक्षी प्रमाण मेटाउन सक्ने भएकाले उनीहरुलाई थुनामा राखेरै अनुसन्धान गरिनुपर्ने बताएका थिए ।
सन्त गाहा मगर, चितवनबाट
