समाचारबिहीबार, बैशाख ४, २०७१
अदालतमा बहस हुँदै गर्दा एमाओवादीको धर्ना
चितवन जिल्ला अदालतमा कार्यालय समय शुरु भएपछि हत्या अभियोगमा पक्राउ परेका आफ्ना कार्यकर्ताहरुको रिहाईको माग गर्दै एमाओवादी र नेकपा–माओवादीले चितवन जिल्ला अदालतमा धर्ना दिएका छन् ।
मुद्दाको थुनछेक बहसको निर्णय नआउँदा सम्म धर्ना बसिराख्ने उनीहरुले बताएका छन् । यसअघि ३ बैशाखमा उनीहरुले जिल्ला प्रशासन कार्यालय चितवनमा दुई घण्टा धर्ना दिएका थिए भने चितवन जिल्ला अदालत अगाडि प्रदर्शन गरेका थिए ।
कृष्णप्रसाद हत्या अरोपमा पक्राउ परेका भिमसेन पौडेल र छविलाल पौडेलकोे थुनछेक सम्बन्धी बहस ४ बैशाख बिहान साढे १० बजेबाट शुरु भएको छ ।
बहसमा प्रतिवादीका तर्फबाट अधिवक्ता कपिलचन्द्र पोखरेलले बहस गरेका छन् भने जाहेरवालाको तर्फबाट अधिवक्ता दिनेश त्रिपाठीले बहस गरिसकेका छन् ।
प्रतिवादीको तर्फबाट बहस गर्नका लागि आज थप ४ जना अधिवक्ताले वकालतनामा दर्ता गराएको चितवन जिल्ला अदालतका श्रेष्तेदार विद्याराज पौडेलले जानकारी दिए ।
अहिलेसम्म प्रतिवादीको तर्फबाट वकालतनामा दर्ता गराउने अधिवक्ताहरु २८ जना पुगेका छन् । जाहेरीवालाको तर्फबाट बहस गर्नका लागि सरकारी वकिल बाहेक दुई जनाले नाम दर्ता गराएको पौडेलले बताए ।
३ बैशाखमा भएको बहसमा प्रतिवादीका तर्फबाट ६ जनाले बहस गरेका थिए ।
सविता श्रेष्ठ, चितवन

