थप समाचारबिहीबार, बैशाख ४, २०७१
शिक्षाका लागि भरिया बनेका हिमाली बालक
बुद्धवीर बाहिङ, सोलुखुम्बु
सोलुखुम्बुको बुङ, छेस्काम, गुदेल, लोखिम, वाकु, सोताङ र पावै गाविसका विद्यार्थीहरु पर्यटकको भारी बोक्न खुम्बुतिर लागेका छन् । विद्यालयको वार्षिक परीक्षा सकिएलगत्तै नयाँ शैक्षिक सत्रका लागि भर्ना शुल्क, पोशाक र कापी/कलम जुटाउन उनीहरु पर्यटक र स्थानीय व्यवसायीका भारी बोकेर खुम्बु क्षेत्रतिर लागेका हुन् ।
खुम्बु क्षेत्रका चौंरीखर्क, नाम्चे र खुम्जुङमा यसबेला पर्यटकको चहलपहल बढेकाले कोशीपारीका कक्षा ७, ८ र ९ मा पढ्ने छात्रछात्राहरु केहीले पर्यटकको भारी त केहीले घरबाट कुखुरा, अण्डा, कोदो र मकै जस्ता खाद्यपदार्थ बेच्न हिँडेका छन् ।
शैक्षिक सामग्रीकै जोहो गर्ने प्रयासमा खुम्बुका होटलमा काम गर्न जाने बालबालिका र किशोरकिशोरी पनि पशस्तै छन् ।
सगरमाथा मावि वाकुमा कक्षा ९ मा पढ्दै गरेकी समिता खालिङले भनिन् “बाबुआमा कापी कलम किनिदिन सक्दैनन, त्यसैले साहुको भारी लिएर खुम्बु हिँडेकी ।”
जनता मावि लोखिममा अध्ययनरत ४० भन्दा बढी छात्रछात्राहरु एकै समूहमा भारी बोकेर नाम्चे बजार पुगेको टोलीमा रहेका कक्षा ८ मा अध्ययनरत प्रकाश राईले बताए । “गाउँमा काम गरेको भन्दा खुम्बुमा पर्यटकको भारी बोक्दा दोब्बर पैसा पाईन्छ, त्यसैले खुम्बुमा पर्यटकको भारी बोक्न सबै साथीहरुसँग सल्लाह गरेर आएका हौं,” उनले भने ।
सगरमाथा मावि बुङका शिक्षक डिकधन कुलुङ यो मौषममा भारी बोक्न जाने चलन धेरै अघिदेखि चलेको बताउँछन् ।
देशमै रोजगारी वृद्धि भए, राज्यले विद्यालयस्तरीय शिक्षा सहज र गुणस्तरीय बनाए उहिल्यै देखिको यो अवस्था अहिलेसम्म कायम हुन्थ्यो होला र ? आखिर कुन चाहीं स्कुले विद्यार्थीलाई भरिया बन्ने मन होला !



