समाचारबिहीबार, बैशाख ४, २०७१
एमाओवादी सभासद्ले भने– ‘नर्वेबाट दीक्षितको नाममा आएको ६ करोड के हो ?’
गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपमा पक्राऊ परेका दुई कार्यकर्ता रिहाई र सबै अभियुक्तविरुद्धको मुद्दा फिर्ता लिनुपर्ने माग गर्दै एमाओवादीले ३ बैशाखमा पनि संसद वैठक अवरुद्ध पारेको थियो ।
एमाओवादीका शक्तिबहादुर बस्नेतले सत्तारुढ दलकै नेताले ‘डलरवादी’ व्यक्तिहरुबाट फुजेलकाण्ड चलेको छ भन्ने अभिव्यक्ति आएको भन्दै नर्वेजियन एम्बेसीबाट कनकमणि दीक्षितका नाममा ६ करोड रुपैयाँ (३८ लाख क्रोनर) आएको बारे स्पष्ट पार्न माग गरेका थिए।
उनले लण्डनको एचएसबिसी बैँकबाट दीक्षितको नाममा ५० लाख रुपैयाँ (५० हजार डलर) समेत आएको देखिएको दाबी गर्दै यसबारे सत्यतथ्य केहो भनी प्रश्न गरे ।
“विदेशी बैँकको खाताबाट अनधिकृत रुपले केही व्यक्तिहरुबाट के एन्ड ए र के एन्ड के दीक्षितको नाममा ट्रान्सफर भएर आएको रकम कसरी आयो, त्यसको छानबिन गर्नु पर्छ कि पर्दैन” उनले प्रश्न गरे ।
उनले भने, “शान्ति र प्रगतिका लागि सरोकार राख्ने सबैको यो चासोको विषय बनेको छ। जारी शान्ति प्रक्रिया लिकमा चल्छ कि बाहिर जान्छर ? सरकार पनि संविधानको प्रावधान अनुसार बढोस्। सरकारले अहिलेसम्म हाम्रो माग अनुसार शान्तिप्रक्रियालाई लिकमा बढाउने प्रतिबद्धता नआएसम्म सदनको कारबाही बढ्न सक्दैन।”
बस्नेतको भनाइपछि सभामुख सुवासचन्द्र नेम्वाङले सदन अबरोध भएको अवस्थामा सदन चल्न नसक्ने भन्दै बैठक स्थगित गरेका थिए।
एमाओवादीले बैठक अवरुद्ध पारेको यो चौथो पटक हो । यसअघि एकपटक पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा त्यसपछि सत्यनिरुपण तथा मेलमिलाप विधेयक नल्याएको भन्दै र तेस्रोपटक कृष्णप्रसाद अधिकारी हत्या आरोपमा पक्राउ परेकालाई रिहा गर्न माग गर्दै एमाओवादीले संसद बैठक अवरुद्ध पारेको थियो ।
