समाचारशुक्रबार, बैशाख ५, २०७१
तीन दिनमा पेट्रोलियम आपूर्ति सहज: मन्त्री थापा
वाणिज्य तथा आपूर्ति मन्त्री थापाले तीन दिनमा पेट्रोलियम पदार्थको अभाव हट्ने दाबी गरेका हुन् । रिपोर्टर्स क्लबले ५ बैशाखमा गरेको कार्यक्रममा उनले इण्डियन आयल कर्पोरेशन (आईओसी)लाई बक्यौता रकम पठाइसकेकोले आपूर्ति सहज हुने बताए ।
उनले आईओसीलाई रु. २ अर्ब ५० करोड ५ बैशाखमै पठाइसकेको जानकारी दिए । उनले भने, “आजै आईओसीलाई तिर्नुपर्ने बक्यौता रकम पठाइएको छ, शविबार र आइतबार भारतमा बिदा भएकाले सोमबारदेखि आपूर्ति सहज हुन्छ ।”
उनले भारतमा चलिरहेको निर्वाचन र बक्यौता रकम भुक्तानी समस्याका कारण पेट्रोलियम पदार्थमा समस्या आएको बताए । “सरकारको सम्पूर्ण ध्यान पेट्रोलियम आपूर्ति सहज गराउनेतर्फ केन्द्रित छ,” उनले भने, “तेल भण्डारण भएर पनि वितरण व्यवस्थापन हुन नसक्दा आएको समस्या अब हल हुन्छ ।”

