समाचारशुक्रबार, बैशाख ५, २०७१
हिमपहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १२ पुग्यो (अपडेट)
५ बैशाख विहान सगरमाथा आधारशिविरबाट क्याम्प वान जाने क्रममा खुम्बु आइसफ पार गरेलगत्तै गएको हिम पहिरोमा पुरिंदा १२ जनाको शेर्पाको घटना स्थलमै मृत्यु भएको सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपीसीसी) का महासचिव लामाकाजी शेर्पाले जानकारी दिएका छन् ।
आधार शिविरबाट क्याम्प १ (वान) का लागी पर्यटकको भारी लिएर जाँदै गरेको १७ जनाको टोली हिमपहिरोमा परेको हो ।
मृत्यु भएका १२ जनामध्ये ११ जनाको शव निकाली सकिएको र १ जनाको निकाल्न बाँकी रहेकोे महासचिव शेर्पाले बताए ।
मृत्यु हुनेहरुमा आङछिरिङ शेर्पा नाम्चे ७, ङिमानुरु शेर्पा नाम्चे ४, दोर्जी शेर्पा नाम्चे ९, आङकाजी शेर्पा संखुवासभा मकालु ९, पासाङकर्मा शेर्पा जुभिङ ५ सोलुखुम्बु, आसमान तामाङ सोताङ ९ सोलुखुम्बु, निमा शेर्पा टाक्सिन्दु सोलुखुम्बु, फुरतेम्बा शेर्पा याथा ९ संखुवासभा, ओङगेल शेर्पा खुम्जुङ ७, थेनदोर्जे शेर्पा पाङबोचे ७ खुम्जुङ, लाक्पातेञ्जिङ शेर्पा खुम्जुङ २ र छिरिङवाङछु शेर्पा खुम्जुङ २ रहेको जिल्ला प्रहरी कार्यलयका सई राजेश थापाले जानकारी दिए ।
त्यस्तै घाइते हुनेमा वाकु ४ सोलुखुम्बुका फुरी शेर्पा, मुस्ताङ छोसेर– ८ का २७ वर्षीय छिमी गुरुङ, केरुङ–३ सोलुखुम्बुका २७ वर्षीय कामी शेर्पा र टाक्सिन्दु ५ सोलुखुम्बुका ३९ वर्षिय काजी शेर्पा लाई उपचारका लागि हेलिकप्टरबाट काठडमाडौं पठाइएको छ ।
मृतकहरुमध्ये ५ जनाको शब हेलिकोप्टरबाट काठमाडौं लैजाने तयारी भैरहेकोर अन्यको शव नाम्चे, खुम्जुङ, जुभिङ र टाक्सिन्दुमै आफन्तहरुलाई बुझाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
बुद्धवीर बाहिङ, सोलुखुम्बु

