समाचारशुक्रबार, बैशाख ५, २०७१

एमाले नेतृत्वमा अब नयाँ टीमः नेता नेपाल

हिमालखबर

नेकपा एमालेका वरिष्ठ नेता नेपालले अहिलेको नेतृत्वलाई बिदा दिएर नयाँ टीमले नेतृत्व लिनुपर्नेमा जोड दिएका हुन् । राजधानीमा ५ बैशाखमा पत्रकारसँगको भेटघाटमा उनले अहिले पदमा बसेकाले पदमा नबसेकालाई छाड्नुपर्ने बताए ।

“अब अध्यक्ष, उपाध्यक्ष, महासचिव बनेकाले पदमा दोहोर्‍याउनु हुन्न,” उनले भने, “पदमा बसेकाले छाड्नुपर्छ, नयाँ टीम नेतृत्वमा आउनुपर्छ ।” उनले आफूले नयाँ टीमको नेतृत्व गर्न सक्ने पनि दाबी गरे ।

उनले आफ्नो टीममा युवराज ज्ञवाली, भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुषाल लगायतका नयाँ पुस्ता रहेको पनि बताए । अध्याँरो कोठामा भागशान्ति गरेर नेतृत्व चयन नहुने पनि उनको भनाइ छ ।

उनले अहिले नेतृत्वको दाबी गरिरहेकाहरुको परीक्षण भइसकेकाले नयाँलाई अवसर दिनुपर्ने बताए । “आफ्नो क्षेत्रमा योग्य देखिएका अनटेष्टेडलाई नेतृत्वमा ल्याउनुपर्छ,” उनले भने ।

पार्टीलाई आफ्नो निजी सम्पत्ति जस्तो एक वर्ष एक जनाले चलाउने, अर्को वर्ष अर्को बस्ने भनेर भागबण्डाको प्रयास भइरहेको उनको आरोप छ । “कसैले आफ्नो प्राइभेट कम्पनी जस्तो एमालेलाई चलाउन खोज्छ भने त्यो अब संभव छैन,” उनले भने ।

यदि नयाँ पुस्तालाई मात्र नेतृत्वमा लैजाऔं भनेर सबै नेताबीच सहमति भए आफू पनि नेतृत्वबाट पछि हट्न तयार रहेको बताए । अबको महाधिवेशनबाट ७० वर्षभन्दा बढी उमेरका नेता नेतृत्वमा नबस्ने, लगातार दुई कार्यकाल भन्दा बढी समय नरहने लगायतका प्रावधान राख्नुपर्ने उनले जोड दिए ।

उनले एमालेमा डनवाद र धनवाद हावी भएको पनि टिप्पणी गरे । “एमालेमा डनवाद र धनवादको खतरा मडारिएको छ,” उनले भने, “यदि डनवाद र धनवादबाट एमालेलाई मुक्त गर्न सकिएन भने पार्टी जनताबाट बिस्थापित हुनेछ ।”

उनले जबजलाई खोपीको देउता बनाउने खेल पार्टीभित्र भइरहेको पनि आरोप लगाए । पार्टीमा रहेका यथास्थितिवादीहरुले परिवर्तन नचाहेको पनि उनको भनाइ छ । “जबजको सान्दर्भिकता अझै सकिएको छैन, तर जबजको अर्थ यथास्थितिमा बसिरहनु पनि होइन,” उनले भने ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>