समाचारआइतबार, बैशाख ७, २०७१
एमाओवादीले आममाफी पाइसकेः पौडेल
नेपाली कांग्रेसका उपसभापति पौडेलले नेपाली जनताले एमाओवादीलाई आममाफी दिइसकेको जिकिर गरेका हुन् । झापा, दमकमा ७ बैशाखमा पत्रकारसँग उनले जनताबाट आममाफी पाएरै एमाओवादी नेताहरु अनुमोदित भइसकेको बताए ।
“जनताले आममाफी दिएरै एमाओवादी नेताहरु प्रधानमन्त्री भइसके,” उनले भने, “अब आममाफीको कुरा झिकेर द्वन्द्वको घाउलाई चर्काउनु हुन्न ।” उनले द्वन्द्वकालिन घटनालाई खोतल्न नहुनेमा पनि जोड दिए ।
उनले सशस्त्र हिंसाको घटनाका पीडकले पश्चाताप गर्नुपर्ने, पीडितले क्षमादान र राज्यले क्षतिपूर्ति दिनुपर्ने बताए । “अब पीडकले पश्चाताप गर्ने र पीडितले क्षमादान दिने वातावरण तयार पार्नुपर्छ,” उनले भने, “त्यस्का लागि राज्यले क्षतिपूर्तिको व्यवस्था मिलाउनुपर्छ ।”
उनले प्रस्तावित सत्य निरुपण तथा मेलमिलाप विधेयकमा आममाफीको व्यवस्था गरिराख्नु नपर्ने पनि बताए ।
गोपाल गडतौला, झापा
