समाचारशनिबार, भाद्र १६, २०६९
एक-दुई दिनमै सहमति हुन्छः दाहाल
राष्ट्रिय सहमतिको सरकारमा विवाद छैन यसका लागि तीन दलबीच सहमति आवश्यक भएको बताउँदै उनले कांग्रेस र एमालेसँग भइरहेको कुराकानी टुङ्गोमा पुग्न लागेको उल्लेख गरे । जनकपुर विमानस्थलमा १६ भदौमा सङ्क्षिप्त कुरा गर्दै अध्यक्ष दाहालले भने, “गम्भीरतापूर्वक विवादित विषयमा केन्द्रित भएर छलफल भएको छ र ती विषयमा एमाले र कांग्रेस पनि सहमतिमा आउने सम्भावना बनेको छ ।”
अध्यक्ष दाहालले ती दलहरूबीच एक-दुई दिनमै सहमति हुने बताए । यदि सहमति नभए ताजा जनादेशका लागि निर्वाचनमा जानेबारे छलफल हुने दाहालको भनाई थियो ।
पार्टीको आन्तरिक प्रशिक्षण कार्यक्रममा भाग लिन जनकपुर पुगेका दाहालले सञ्चारकर्मी प्रश्नको जवाफमा राष्ट्रपतिले अत्यावश्यक विधेयकबारे केही नबोलेर गतिरोध अन्त्य गरी सहमति खोज्न चाहेको धारणा राखे । रासस
