समाचारबुधबार, बैशाख १०, २०७१
सप्तरीका धेरै गाउँ जलेरै सकिए
सप्तरीको झुटकी गाविसमा ४५ घर जलेको एकदिन नबित्दै इनर्वा गाविसमा आगलागी भएको छ ।
इनर्वा–१ का रामफुल खंगको गोठबाट सल्किएको आगोले ९ वैशाख राति ६० भन्दा बढी घर जलेर खरानी भएका छन् ।
आगलागीमा परी ९ बैशाख दिउँसो मात्रै बैंकबाट झिकेर ल्याएको नगद रु एक लाख ५० हजार जलेर नष्ट भएपछि स्थानीय राजेश्वर स्वर्णकारकी पत्नी सुदोदेवी बेहोस छन् । विदेशमा रहेका स्वर्णकारले पत्नीका नाममा ९, वैशाखमा मात्रै रकम पठाएका थिए ।
आगलागीबाट स्थानीय शोभालाल खंगले घरमै राखेकोे रु १ लाख नगद समेत जलेको छ । उनी पनि घर बनाउने तयारीमा थिए ।
राति आगलागी हुँदा घरमा रहेका अन्नपात, लत्ताकपडा, नगद जल्दा रु एक करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । आगलागीमा परी एक दर्जन खसी, बाख्रा र बोका पनि जलेर मरेका छन् ।
राति १२ बजेदेखि शुरु भएको आगो स्थानीय र प्रहरी समेतको सहयोगमा अढाई बजे नियन्त्रणमा आएको थियो ।
यसअघि मंगलबार मध्यान्ह झुटकी गाविसमा आगलागी हुँदा १४ परिवारको ४५ वटा घर र गोठ जलेर नष्ट भएको थियो । झुटकी ९ निवासी स्थानीय भिखाई सदाको घरबाट शुरु भएको आगोले रु ४५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
त्यस्तै सप्तरीको विषहरियामा १६ चैत दिउँसो आगलागी हुँदा ७२ घर जलेर खरानी भएका थिए भने तिलाठी–४ मा १ वैशाख राति आगलागी हुँदा सात परिवारका २५ घर जलेका थिए ।
विपन्न वस्तीका घरहरुमा आगलागी हुने क्रम वर्षेनी दोहोरिइरहँदा पनि सरोकारवालाहरुको ध्यान पुग्न सकेको छैन ।
नकटीरायपुर गाविसमा २६ फागुनमा भएको भीषण आगलागीबाट सिगो बस्ती सखाप भएको थियो दलितहरुको वस्ती रहेको उक्त गाउँमा ४६ घर ध्वस्त भएका थिए ।
हिंडडुल गर्न पनि समस्या
इनर्वा गाविसमा भएको आगलागीपछि अग्निपीडित हरिलाल खंगलाई हिंडडुल गर्न पनि समस्या उत्पन्न भएको छ ।
एउटा खुट्टा मात्र भएका खंगले प्रयोग गर्ने ह्वील चेयरसमेत जलेपछि हिंडडुलमा अप्ठेरो भएको हो ।
साइकल मर्मत गरी गुजारा चलाउँदै आएका हरिलालका छोरा श्रीप्रसाद समेत बिरामी छन् ।
विदेश गएका छोरा बिरामी भएर फर्केपछि अपाङ्ग हरिलाल जसोतसो परिवारको गुजारा टार्दै आएकोमा आगलागीले उनलाई समस्यामा पारेको छ ।
आगलागीको चपेटामा पर्ने इनर्वाका अधिकांश परिवार दैनिक ज्यालादारी गरेर गुजारा टार्ने भएका कारण उनीहरुलाई ओत लाग्न पनि समस्या भएको छ ।
श्रवणकुमार देव, राजविराज

