थप समाचारबुधबार, बैशाख १०, २०७१
विरामी ठग्ने ६ जना विराटनगरमा पक्राउ
कोशी अञ्चल अस्पतालमा उपचारका लागि पहाडी क्षेत्रबाट आउने बिरामीलाई बाटोमै अल्मल्याएर अन्यत्रै लैजाने समूहका ६ जनालाई मोरङ प्रहरीले १० वैशाखमा पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तीनजना रिक्सा चालक र तीन जना बिभिन्न क्लिनिकका सहयोगीहरु छन् । उनीहरुले बाहिरी जिल्लाबाट आउने विरामीलाई राम्रो अस्पतालमा पुर्याइदिने भन्दै केही निजी क्लिनिकमा पुर्याउने गरेको र रकम असुल्ने गरेको प्रहरी उपरीक्षक विश्वराज पोखरेलले बताए ।
यसैबीच रिक्सा चालकले राम्रो चिकित्सक भन्दै ठगको क्लिनीकमा पुर्याएर १२ हजार रुपैयाँ ठगेको भन्दै तेह्रथुमकी देवी भण्डारीले प्रहरीमा जाहेरी दिएकी छन् ।
रिक्सा चालकले विराटनगर ९ जलजला रोडको पबित्र मेडिकल हलमा लगेको र सञ्चालक राजु साहले बिभिन्न परीक्षण गरेको भन्दै १२ हजार रुपैयाँ लिएको भण्डारीले बताइन् । प्रहरीमा जाहेरी पर्ने बित्तिकै मेडिकल संचालक राजु साहले भण्डारीलाई १२ हजार रुपैयाँ फिर्ता गरेका छन् ।
साहले भण्डारीको रगत परीक्षण गरेको भन्दै मनगढन्त रिपोर्ट दिएको र उक्त रिपोर्ट गलत भएको कोशी अञ्चल अस्पतालले जनाएको छ ।
कमल रिमाल, विराटनगर
