समाचारशुक्रबार, बैशाख १२, २०७१
यात्रुलाई बेहोस बनाई लुट्ने पक्राउ
महेन्द्रनगर प्रहरीले मान्छे बेहोस हुने औषधि खुवाएर लुटपाट गर्दै आएको गिरोहका तीन जनालाई लुटेको रकम र औषधिसहित पक्राउ गरेको छ ।
प्रहरी निरीक्षक पुष्करबहादुर चन्दका अनुसार लुटपाटमा संलग्न बाजुराको कोल्टी–६ कुरुका २६ वर्षीय कमल रोकाया, कैलालीको साढेपानी–८ का ३४ वर्षीय नदीराम पाण्डेय र धादिङको बेसरी–४ भैंसेका ३६ वर्षीय गणेशबहादुर गुरुङलाई पक्राउ गरिएको छ ।
उनीहरुले भारतीय बजार टनकपुरस्थित बसपार्कमा कालीकोटको नैनीकोट–३ का काशी बोहरा र रामबहादुर बोहरालाई लोराजीपाम नामक औषधि खुवाएर नगद र सरसामान लुटेका थिए ।
पक्राउ परेकाबाट प्रहरीले ३८ ट्याब्लेट लोराजीपाम र आठ हजार ७०६ भारतीय रुपैयाँ, लुगा कपडासहित दुई वटा कम्ब्याट झोला बरामद गरेको प्रहरी निरीक्षक चन्दले बताए ।
पक्राउ परेकालाई लागुऔषध ओसारपसार मुद्दामा कारबाही प्रक्रिया अघि बढाइएको छ ।

