थप समाचारशुक्रबार, बैशाख १२, २०७१
अन्त्येष्टीको तयारी गर्दा थाहा भयो– शिशु अस्पतालमा साटिएछ
दीपक ज्ञवाली,बुटवल
१० वैशाखमा छोरा जन्माएकी रुपन्देहीको गोनाहा–१ की विद्या हरिजनले डेड वर्षअघि जन्माएको शिशुको जन्मेलगत्तै मृत्यु भएको थियो । आम्दा अस्पतालले भर्खरै जन्मेको शिशुको पनि मृत्यु भएको भन्दै सेतो कपडाले बेरिएको शव बुझाएपछि बाबु कन्हैया बेहोस भए ।
तर अर्को दिन विहान शिशुको सदगत् गर्ने क्रममा उक्त शिशु बालिका भएको थाहा पाएपछि आफन्तले अस्पतालमा खबर गरे, एक दिनअघि भीम अस्पतालमा विद्याले छोरा जन्माएकी थिइन् ।
सुत्केरी बेथाले च्यापेपछि १० वैशाखमा भैरहवाको भीम अस्पतालमा भर्ना भएकी विद्या हरिजनले दिउँसो १ बजे छोरा जन्माइन् । डेढ वर्षअघि शिशु गुमाउनु परेको पीडा विर्सेर परिवारका सबै खुशी भए ।
तर, भीम अस्पताले बच्चाको स्वस्थ्यमा जटिलता देखिएको भन्दै थप उपचारकालागि सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) मा रेफर गर्यो । शिशुलाई आइसियुमा राख्नु पर्ने भनिएपछि अभिभावकले ८ हजार धरौटी र केही औषधीसहित बच्चा अस्पतालमा बुझाए ।
राति १० बजेपछि राउण्डमा आएका डाक्टर सन्तोष पोखरेलले आइसियुमा रहेको शिशुको अवस्था सामान्य रहेकोे बताएपछि उनीहरु ढुक्क भएका थिए । तर, राति पौने १२ बजे अस्पतालले बालकको मृत्यु भएको भन्दै सेतो कपडाले बेरिएको शव अभिभावकलाई बुझायो । मृत घोषणा गर्ने डाक्टर नरेन्द्र यादव थिए ।
नवजात शिशुको मृत्यु भएको खबर र सेतो कपडामा बेरिएको शव देखेपछि बाबु कन्हैया बेहोस भए । मृत शिशुको त्यसै रात सद्गत गर्ने सोचाईमा रहेका काका परमालिकलगायतले कन्हैया बेहोस भएपछि शिशुको शव घरमै लैजाने र अर्को दिन अन्त्येष्टि गर्ने निर्णय गरे । आमा विद्यालाई भने शिशुको मृत्यु बारे खबर गरिएन ।
११ बैशख बिहानै स्थानीय प्रचलनअनुसार शव विर्सजन गर्नुअघि शिशुको मृत शरीर हेर्दा त्यो बालकको नभई बालिकाको थियो ।
घरपरिवार र छरछिमेकमा खैलाबैला भयो । काका परमालिक हरिजनले अस्पतालमा फोन गरे । फोन रिसिभ गरेकी नर्सले छोराछोरी छुट्याउन नसक्ने भन्दै उनलाई उल्टै थर्काइन् । लगातार ७ चोटी फोन गर्दा पनि केही सिप नलागेपछि परमालिकले भीम अस्पतालमा बच्चा जन्मेको, बच्चाको फोटो आफुसंग रहेको र यही प्रमाणसहित प्रहरीमा उजुरी गर्ने भन्दै बालिका शिशुको शव लिएरै अस्पताल पुगे ।
शुरुमा झुटो भनेर हप्काएको अस्पतालले भीम अस्पतालको रेकर्ड देखाएपछि गल्ती स्वीकारेको छ । पीडित विरोधमा उत्रेपछि अस्पतालले उपचारमा संलग्न चिकित्सक र नर्सहरुको गल्तीले बच्चा साटिएको जनायो ।
मृत शिशुलाई अस्पतालले पुनः जिम्मा लिई उनीहरुको छोराको उपचार भैरहेको पनि अस्पतालले जानाकारी गराएको छ ।
अस्पतालका अनुसार नर्सको ड्युटी फेरिंदा असावधानीबस विरामीको फाइल साटिएकाले उक्त घटना भएको हो । अस्पतालका निर्देशक विनोद पराजुलीले शिशु गल्तीले साटिएको भएपनि उनीहरुको वास्तविक बच्चा अस्पतालमा सुरक्षित रहेको बताएका छन् ।
“बाँचेको बच्चाको सट्टा मृत बच्चा दिएर आफन्तलाई पुर्याएको पीडाप्रति क्षमा माग्छौं,” उनले भने, “बच्चा के कारणले साटियो भन्नेबारे अनुसन्धान गरी दोषिलाई कारवाही गर्छौं ।”
अस्पतालले बालकको उपचार निशुल्क गरिदिने र दोषीलाई कारबाही गर्ने प्रतिवद्धता जनाएको छ ।
मृत बालिकाका आफन्त र कन्हैयाका आफन्तले समेत शिशु किन साटियो भन्ने बारेमा अस्पतालले प्रष्ट पार्नुपर्ने दबाब दिएपछि अस्पतालले स्थानीय अगुवा, पीडित पक्ष लगायतको संलग्नतामा छलफल गरी छानविनका लागि ३ सदस्यीय छानविन समिति गठन गरेको छ ।
लुम्बिनी अञ्चल अस्पतालका पूर्व अध्यक्ष रामबहादुर कार्की संयोजक रहेको समितिमा आम्दा अस्पतालका चिकित्सक सन्तोष पोखरेल र पीडितका पक्षबाट रामप्रसाद हरिजन सदस्य छन् ।
संयोजक कार्कीले बालकलाई दिनु पर्ने औषधी बालिकालाई दिइएको वा गलत औषधी दिएर पनि बालिकाको मृत्यु भएको हुनसक्ने शंका व्यक्त गरे ।
यसअघि १ माघमा लुम्बिनी अञ्चल अस्पताल बुटवलबाट ८ दिनको नाबालक हराएको थियो ।
मृत शिशु कोे हो ?
अस्पतालले हरिजन परिवारलाई जिम्मा लगाएकी मृत शिशु गुल्मीको नयाँगाउ–३ की कमला गौतमकी छोरी थिइन् ।
उनले गुल्मी अस्पतालमै बच्चा जन्माएकी थिइन् । बच्चाको स्वास्थ्य अवस्था विग्रिएपछि थप उपचारकालागि ९ बैशाखमा बालिकालाई आम्दा अस्पतालको एनआइसीयुमा भर्ना गरिएको थियो ।
नाबालिकालाई राति नै मृत घोषणा गरेपनि यसबारे अभिभावकलाई थाहा थिएन । हरिजन परिवारले बालिका फर्काएपछि मात्रै अस्पतालले मृत बालिका उनीहरुको भन्दै शव गौतम परिवारलाई जिम्मा लगाएको छ ।
