थप समाचारशुक्रबार, बैशाख १२, २०७१

अनमी पढ्दै मुक्त कमलरी

हिमालखबर

जिरीमा अध्ययन गरिरहेका मुक्त कमलरी। तस्वीरहरुः शर्मिला बुढाथोकी

पूर्व कमलरी दाङकी सविता चौधरी अहिले दोलखाको जिरी प्राविधिक शिक्षालयमा २९ महीने अनमी कोर्स गर्दैछिन्। आठ वर्षको उमेरदेखि चार वटा घरमा कमलरी बसेकी उनी अरूको घरमा काम गर्दा थुप्रै शारीरिक र मानसिक यातना भोग्नुपरेको बताउँछिन्। अनमी बनेर दुःखीको सेवा गर्ने उनको योजना छ।

दाङ, बाँके, बर्दिया, कञ्चनपुर र कैलालीका उनी जस्ता ४० जना मुक्त कमलरी अहिले जिरीमा अनमी कोर्स गर्दैछन्। उनीहरूलाई यो अवसर गैरसरकारी संस्था ‘नेपाल युथ फाउन्डेशन’ ले जुराइदिएको हो।

जिरीमा अनमी गरिरहेकी बर्दियाकी लक्ष्मी चौधरी तीतो विगत बिर्सन मन लगाएर पढिरहेको बताउँछिन्। कमलरी बस्दा पेटभरि खान नपाएको तथा गालीगलौज र कुटपिट सहेको सम्झ्ँदै लक्ष्मी भन्छिन्, “हाम्रा लागि चाडपर्व पनि कहिल्यै आउँदैनथ्यो।” त्यहीं पढिरहेकी कैलालीकी मुक्त कमलरी विना चौधरीको भने अनमीपछि स्टाफ नर्स पढ्ने धोको छ।

तर, ३ देखि ६ कक्षाबाट औपचारिक पढाइ शुरू गरेका र एसएलसी पनि उत्तीर्ण नगरेकाले मुक्त कमलरीलाई अनमी पढाउनु सजिलो नभएको जिरी प्राविधिक शिक्षालयका प्रिन्सिपल रामहरि खनाल बताउँछन्। नेपाल युथ फाउन्डेशन क्षेत्रीय कार्यालय नेपालगञ्जका परियोजना अधिकृत विनोद कँडारा चाहिं मुक्त कमलरीलाई अध्ययनपछि रोजगारी दिलाउने प्रयत्न गरिने बताउँछन्।

फाउन्डेशनले यसअघि पनि दुई जना मुक्त कमलरीलाई जुनियर कम्प्युटर प्राविधिक र एक जनालाई सीएमएको रोजगारी दिलाइएको उनको भनाइ छ। यो वर्ष एक हजार मुक्त कमलरीले प्रवेशिका (एसएलसी) परीक्षा दिएको र प्राविधिक विषय अध्ययन गर्न चाहनेलाई फाउन्डेशनले सहयोग गर्ने उनले बताए।

शर्मिला बुढाथोकी, दोलखा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>