समाचारशनिबार, बैशाख १३, २०७१

सुरुङमा थुनिएका १३ को उद्धार, तीन वेपत्ता

हिमालखबर

माधव बराल पोखरा

उद्धार गरिएका मजदुर अस्पतालमा । तस्वीर: माधव बराल

१२ वैशाख दिउँसो निर्माणाधिन सुरुङको मुखमा पहिरो गएर थुनिएका मजदुरलाई १५ घण्टापछि राति ३ बजे मात्रै उद्दार गरिएको थियो । उनीहरु सबै सकुशल रहेको अस्पतालले जनाएको छ ।

उद्धार गरिएका मजदुरहरुमा मकवानपुरका १९ वर्षीय नमराज थोकर, २५ वर्षीय देउराम थोकर, २१ वर्षीय विसाल गोल, ५४ वर्षीय विष्णु लामा, २३ वर्षीय मनोज पुलामी, २५ वर्षीय गणेश थापा, १८ वर्षीय शेरबहादुर तामाङ, उदयपुरका २० वर्षीय शिवराज तामाङ, खोटाङका १८ वर्षीय सुजन भुजेल, कास्कीका रामचन्द्र विक र चिनियाँ नागरिक यूजोन मिङ छन् ।

घटनामा तनहुँका २८ वर्षीय सुजन गुरुङ, उदयपुरका २४ वर्षीय नगेन्द्र तामाङ र ४८ वर्षीय अर्जुन तामाङ वेपत्ता भएका छन् ।

सुरुङ भित्र एक्साभेटर छिर्न लागेको बेलामा पहिरो खसेपछि एक्साभेटरसहित तीन जना पहिरोमा पुरिएका थिए । गुरुङ एक्साभेटर चालक हुन भने नगेन्द्र र अर्जुन पनि सँगै थिए ।

सुरुङभित्रै थुनिएका १३ जनालाई प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरीको बिपद ब्यबस्थापन टोलीले उद्धार गरेको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त लामाले जानकारी दिए ।

“एक्कासी बम पड्के जस्तो आवाज आयो,” सुरुङमा १५ घण्टा थुनिएका देउराम थोकरले भने, “हामी पहिरो खसेभन्दा करिव १३१ मिटर पर काम गरिएका थियौं, पहिरो खसेपछि विजुली पनि गयोे, अत्तालियौं ।”

बाहिरबाट पाईपको सहायताले पठाइएको पानी र हावाले केही राहत भएपनि लामो समय निसास्सिएर बस्दा मानसिक तनाव भएको उनले बताए ।

“नयाँ जीवन पाए जस्तो भएको छ,”थोकरले भने, “सुरुङमा पहिलो पटक काम गरेको हुँ, काम गर्दा अपनाउनु पर्ने सचेतनाको बारेमा जानकारी नहुदाँ तनाव बढी भयो ।”

२५ मेघावाट क्षमताको आयोजनाको काम दुई वर्ष अघिदेखि शुरु भएको हो । आयोजना पोखरादेखि १७ किमी उत्तरपूर्वमा पर्दछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>