समाचारआइतबार, बैशाख १४, २०७१
सगरमाथा– आकर्षण र त्रास
-बुद्धवीर बाहिङ, खुम्बुबाट
लस्करै उक्लिरहेका आरोहीहरु क्याम्प– १ पुग्नुअघिको खुम्बुआईसफल पार गर्ने तरखरमा थियौं त्यसैबेला एक्कासी ठूलो आवाज आयो । सबै शेर्पाका आँखा माथितिर एकोहोरिए, केही सोच्न नपाउँदै ठूलो हिउँको ढिस्को झर्न थाल्यो ।
हिउँ खस्ने क्रम बढ्दै गयो, हामी अत्तालिएर चिच्याउन थाल्यौं, कोही क्रेभासमै आड लागे, कोही तलतिर भाग्न थाले । म चिप्लीएर ग्लेशियरमा पुगें ।
चिप्लिएपछि म बेहोस भएछु, होसमा आउँदा मेरो आधा शरिर हिउँले पुरिएको थियो, बल्लतल्ल बाहिर निस्कें । अरु साथीहरुलाई खोजें, तीन जना साथीहरुको मृत्यु भइसकेको थियो अरु वेपत्ता थिए ।
पछि हेलिकप्टर आएर उद्दार गर्यो । जम्मा १० जना साथीहरुको शव भेटियो अरु ३ जना अझै हिउँमै पुरिएका छन् ।
(हिमपहिरोमा परेर बाँच्न सफल काजी शेर्पासँगको कुराकानीमा आधारित)
हिम पहिरोले ल्याएको त्रास
हिमाल आरोहणको इतिहासमै सबैभन्दा विनाशकारी मानिएको ५ वैशाखको दुर्घटनामा १३ जना साथी गुमाउँदा नेपाली आरोहीहरु दुखी त छन् नै त्यसमाथि जोखिमको त्रास अरु थपिएको छ ।
सगरमाथा आरोहणका लागि आउने पर्यटकहरुका लागि ‘हाइअल्टिच्युड’ मा काम गर्न सक्ने नेपाली नभई हुँदैन । नेपाली गाइड÷भरीयाहरुले आरोहीका लागि बाटो बनाउने, उनीहरुका सामान बोकिदिने, आरोहणको विधि सिकाउने र आपतविपदमा उद्दार गर्ने समेत काम गर्छन् । जुन काम अत्यन्तै जोखिमपूर्ण हो ।
जस्तै जोखिममा काम गर्ने सहास भएका नेपाली आरोही यो घटनापछि भने अब सगरमाथा चढ्ने कि नचढ्ने भन्ने दोधारमा छन् । विशेषगरी उनीहरुलाई परिवारबाट सगरमाथा नचढ्न दबाब आइरहेको छ ।
सगरमाथा आरोहणको सबैभन्दा उपयुक्त मौसम वैशाख–जेठ भएपनि जलवायु परिवर्तनको कारण हिउँ पग्लने क्रम बढेपछि पहिरो गएको शेर्पाहरु बताउँछन् । “ज्यानको बाजी राखेर अब हिमालमा काम गर्नु पर्दैन, हामीलाई पैसा होइन तिमी चाहिन्छ, छिटो घर फर्केऊ,” एकजना आरोहीलाई पत्नीको सन्देश यस्तो थियो ।
पछिल्लो समय खुम्बु क्षेत्रमा तापक्रम बढिरहेको स्थानीय बासिन्दा बताउँछन् । “हिमालमा बढ्दै गएको हिमपहिरो जलवायु परिवर्तनकै असर हो,” सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपीसीसी) नाम्चेका महासचिव लामाकाजी शेर्पाले भने ।
वैशाख, जेठ महिनालाई सगरमाथा चढ्ने उत्तम महिना मानिए पनि हिमाली क्षेत्रमा बढिरहेको तापक्रमका कारण अब आरोहणको समय अगाडि सार्नुपर्ने शेर्पाको भनाई छ ।
अहिले चौंरीखर्क, नाम्चे र खुम्जुङका होटल/पर्यटन व्यवसायी, स्थानीय बासिन्दा र खुम्बु क्षेत्रमा आएका पर्यटकहरु मलिन अनुहारमा देखिन्छन् । खुम्बुबासी शोकमग्न छन् । “हामी त ग्लेसियरमाथि बसेका छौं, कहिले के हुने हो भरोषा नै भएन,” बुद्ध लज एण्ड रेष्टुरेण्ट गोरक्सेपका प्रोपाइटर पेम्बा शेर्पाले भने ।
खुम्बु क्षेत्रका दुधकोशी किनारमा बसोबास गर्ने अधिकांश यसक्षेत्रका हिमतालहरु पग्लिंदै गर्दा त्रसित छन् ।
सगरमाथामा मृत्यु
सगरमाथामा पहिलोपटक तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले पाइला टेक्नुभन्दा अगाडिनै २० भन्दा बढी आरोहीहरुको मृत्यु भैसकेको थियो ।
सबैभन्दा पहिले २५ जेठ १९७९ मा एकैपटक ७ जनाको मृत्यु भएको थियो । ब्रिटिश एक्सपीडिसन दलमा सहभागी ती सबै भारतीय नागरिक भएको सोलुखुम्बु खुम्जुङस्थित फेरिचेमा निर्मित सगरमाथा पार्कमा राखिएको स्मारकमा उल्लेख छ ।
सगरमाथा आरोहणका क्रममा सबैभन्दा पहिलो पटक मृत्युवरण गर्नेमा भारतीय नागरिकहरु नोर्बु, लाक्पा, पासाङ, पेमा, साङ्गे, दोर्जे र तेम्बा थिए । उनीहरु ब्रिटिश नागरिक जनरल चाल्र्सको नेतृत्वमा भएको जि.एल. मालोरी र हवार्ड समरभेलको आरोहण दलको सहयोगीको रुपमा सगरमाथा गएका थिए ।
५ वैशाखमा गएको जस्तै हिमपहिरो यसअघि पनि नगएको भने होइन तर, यति धेरै आरोहीको ज्यान एकैपटक गएको यो पहिलो पटक हो ।
२३ चैत २०२६ मा जापानी एक्सपिडिसन टोलीसँगै गएका ८ जना शेर्पाको हिमपहिरोमा परी ज्यान गएको थियो भने सन् १९७४ मा पनि एकै पटक ५ जनाको ज्यान गएको थियो । फ्रान्सेली टोलीमा गएको आरोहण सहयोगीहरु लाक्पा शेर्पा, सानुवाङगेल शेर्पा, पेम्बादोर्जी शेर्पा, ङवाङलुटुक शेर्पा र नीमावाङछु शेर्पाले ज्यान गुमाएका थिए ।
सगरमाथामा सर्वप्रथम ज्यान गुमाउने नेपाली भने शमशेर पुन थिए । ब्रिटिश एक्सपीडिसन टोलीको सहयोगी रहेका पुनको ३१ वैशाख १९८१ मा मृत्यु भएको थियो ।
सन् १९५३ यता सगरमाथामा २ सय ५० जनाको मृत्यु भएको छ ।
रोकिदैन सगरमाथा चढ्नेक्रम
केही दिन यता विभिन्न सञ्चार माध्ययममा सगरमाथा आरोहण रोकिने भन्ने समाचारहरु निराधार भएको सगरमाथा आधारशिविरमा अनुकुल मौसम पर्खिएर बसिरहेका आरोहीहरुले बताएका छन् ।
सगरमाथामा ५ वैशाखमा भएको त्रासदीपूर्ण दुर्घटनाले अन्य आरोहीलाई दुखी र त्रसित बनाए पनि सगरमाथा आरोहण भने नरोकिने उनीहरु बताउँछन् । “सगरमाथामा जस्तै जोखिम भए पनि यसप्रतिको आकर्षण गज्जबको छ,” शेर्पा बताउँछन् ।
हिमपहिरोमा साथीहरु गुमाएपछि आधारशिविरमा जम्मा भएका नेपाली आरोहीहरुको यसवर्ष सगरमाथा नचढ्ने भन्ने निर्णय शोकका बेला भावनामा बगेर गरेको भन्दै अधिकांश आरोहीहरुले सगरमाथा चढ्ने ईच्छा राखेकाले आरोहणको क्रममा नरोकिने एसपीसीसीका महासचिव लामाकाजी शेर्पाले बताए ।



