समाचारबुधबार, बैशाख १७, २०७१
खाल्डोभित्र लुकाइएको डिजेलसहित १९ ट्याङ्कर र १४ जना पक्राउ
रुपन्देहीको पड्सरी र मधवलिया गाविसमा घरभित्रै खाल्डो खनी ट्याङ्कीमा लुकाई राखेको करीब १६ हजार लिटर डिजेलसहित १९ वटा तेल बोक्ने ट्याङ्गकर र १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको रुपन्देहीका प्रहरी उपरीक्षक विक्रम सिंह थापाले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा मधवलिया–३ रुपन्देहीका विक्की क्षेत्री, करहिया–४ का ट्याङ्गर चालक शिव चौधरी, सहचालक मोहन कडेल, टिकुलीगढ– ३ का सुदीप कार्की, सोही ठाउँका पदम थापा छन् ।
त्यसैगरी देवदह ८ भलुहीका रामचन्द्र चौधरी, सूर्यपुरा २ का प्रकाश महत, करहिया– ३ भलवारीका राजन चौधरी र तम्घास गुल्मीका राजन रायमाझीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
राष्ट्रिय सतर्कता केन्द्रका सहसचिव तथा प्रवता कृष्ण प्रसाद पौडेलको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले खाल्डोभित्र ट्याङकी बनाई लुकाइएको साथै ड्रममा राखिएको तेल बरामद गरेको हो ।
उक्त डिजेल कृत्रिम अभाव सृजना गरी कालोबजारी गर्न आयल निगमको डिपोमा बुझाउनुअघि नै चोरी गरी लुकाइएको हुनसक्ने प्रहरीको भनाई छ ।
विशेष सूचनाको आधारमा बरामद गरिएको पेट्रोलियम पदार्थ चोरीमा संलग्न आयल निगमका कर्मचारी, ट्याङ्करका मालिक, चालक, सहचालक सबैलाई कारवाही गरिने प्रहरी प्रमुख थापाले बताए ।
दीपक ज्ञवाली, बुटवल
