थप समाचारबिहीबार, बैशाख १८, २०७१
तिर्खा मेटाउँदै शताब्दी पुरानो धारा
वि.सं. १९५८ मा तत्कालीन राणा प्रधानमन्त्री देव शमशेरले बनाएको पानीको फोहरा फ्याक्ने ट्याङ्की ‘कर्मकुमारी स्पोउट’ ले अझै बाराको अमलेखगंज गाविसका बासिन्दालाई सुविधा दिंदैछ।
सो ट्याङ्की सामान्य मर्मत गरेर ५१६ घरधुरीलाई पानी वितरण गरिएको खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष नारायण थापाले बताए।
रखैल रानी कर्मकुमारीको सम्झनामा देव शमशेरले अमलेखगञ्जको ५ किमी उत्तर चुरे मुहानमा इन्टेक बनाएर ४६.५ मिटर लम्बाइ र १०.५ मिटर चौडाइको २४ लाख लिटर क्षमताको ‘स्पोउट’ निर्माण गराएका थिए।
जमीन मुनि १८ फिट गहिरो र माथि ५.५ फिट अग्लो स्पोउटमा सुर्खी (ईंटाको धूलो) र ईंटा प्रयोग गरिएको छ।
त्यसपछिका राणा प्रधानमन्त्री चन्द्रशमशेरले कमारा/कमारीलाई मुक्त गरी अमलेखगंजमा राखेका थिए। ३५ वर्षअघि नयाँ खानेपानी आयोजना बन्नुअघि सिमरा र पथलैयावासीले सोही स्पोउटको पानी प्रयोग गर्थे।
त्यहाँबाट पानी वितरण गर्न पहिले विछ्याइएको १ इन्च मोटो र १६ सय मिटर लम्बाइको जीआई पाइप अझै धेरै ठाउँमा काम लाग्ने रहेको थापाले बताए। सो आयोजना जिल्ला खानेपानी संस्थानबाट २०५३ मा उपभोक्ताले जिम्मा लिएका थिए।
बटुवा र जंगली जनावरका लागि देव शमशेरले त्रिभुवन राजपथ नजिक जंगलका अरू पाँच ठाउँमा कर्मकुमारी धारा र पोखरी बनाउन लगाएका थिए। रेखदेख र मर्मत नभएकाले अमलेखगंज र आधाभारका दुई बाहेक अन्य ठाउँका धारामा अहिले पानी आउँदैन।
“अहिले पनि पाइप लाइन बिग्रिएको छैन”, अमलेखगंज गाविसका पूर्व अध्यक्ष भरत घलेले भने, “मर्मत हुने हो भने पनि पानी चलाउन सकिन्छ।”
गोकुल घोरसाइने, बारा

