थप समाचारशनिबार, बैशाख २०, २०७१
मेलगैरीको पीडा उस्तै
रुकुमको पीपल–६ का नवीन गौतम (१७) पिता कलबहादुर मेलगौरीमा ६ जना खत्री वन्धुसँग १५ फागुन २०५२ मा सरकारी सुरक्षा फौजबाट मारिंदा एक वर्षका थिए। त्यसको ८ वर्षपछि आमा पनि गुमाएपछि हजुरबुबा र हजुरआमासँग बस्न थालेका उनी अहिले शान्ति तथा पुनर्निर्माण मन्त्रालयको कार्यक्रम मार्फत डकर्मी तालिम लिंदैछन्। हजुरबुबा र हजुरआमा वृद्ध हुँदै गएकाले गुजारा चलाउन तालिम लिएको उनी बताउँछन्।
नवीनका पितासँगै मारिएका खड्गबहादुर खत्री, लालबहादुर गौतम, पशुपति खत्री, दलबहादुर खत्री र मनबहादुर खत्रीको परिवारले पनि सरकारबाट रु.३ लाख राहत बाहेक केही पाएका छैनन्। सशस्त्र विद्रोही माओवादीबाट पिता मारिएका प्रेमबहादुर नाथ पनि सरकारले रु.३ लाख मात्र राहत दिएको बताउँछन्।
सरकारी सुरक्षा फौजबाट मारिएका परिवारको सहानुभूति पाउन त्यो वेला माओवादी नेताहरूले मृतकको सपना पूरा गर्न र मेलगैरीलाई जिल्ला सदरमुकाम बनाउन क्रियाशील रहने बताएका थिए।
तर, शान्ति बहालीपछि माओवादीका वरिष्ठ नेताहरू द्वन्द्वमा २७ जनाले ज्यान गुमाएको मेलगौरी फर्केनन्। जिल्ला शान्ति समितिका सचिव केशव बिसी मारिएका २७ परिवारमा एक बाहेक सबैका परिवारले राहत पाएको बताउँछन्।
धनवीर दाहाल, रुकुम
