समाचारआइतबार, बैशाख २१, २०७१
एसीसी प्रिमियर लिगः तेस्रो खेलमा नेपालको पराजय
२१ वैशाखमा मलेशियाको क्वालालम्पुरमा भएको एसीसी प्रिमियर लिग अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले ओमानसँग २ विकेटले हारेको छ ।
ओमानले ४७.५ ओभरमा ८ विकेट गुमाउँदै नेपालले दिएको १५८ रनको लक्ष्य नघायो । अन्तिम बलमा ओमानका सुल्तान अहमदले चौका प्रहार गरेपछि ओमानले १६१ रन बनाउन सफल भयो ।
यो खेलमा नेपाली टोलीका ब्याट्सम्यानहरुको प्रदर्शन कमजोर देखियो । यसअघि तुलनात्मक रुपमा बलियो मानिएको युएई र आयोजक मलेशियालाई हराएको नेपालले त्यो भन्दा कमजोर ओमानसँग भने हार व्यहोर्नु पर्यो ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४५ ओभरमा अलआउट हुँदै १५७ रन मात्रै बनायो ।
नेपालका तर्फबाट सागर पुनले ३, वसन्त रेग्मीले ३, शक्ति गौचनले २ र पारस खड्काले २ विकेट लिएका थिए ।
नेपालका ओपनर ब्याट्सम्यान सुवास खकुरेल खाता नखोली आउट भए भने ज्ञानेन्द्र मल्लले ६ चौकासहित २६ रन बनाए ।
त्यसैगरी कप्तान पारस खड्का ६ रनमा आउट भए भने मेहबुब आलमले ५ रनमात्रै बनाउन सके । नेपालका चारजना ब्याट्सम्यान दोहोरो अंकै नजोडि आउट भए ।
मध्यक्रमका ब्याट्सम्यान शरद भेसवाकर लामो सयम क्रिजमा रहे पनि उनले ६१ बल खेल्दै १६ रनमात्र बनाए ।
बिनोद भण्डारी १० रन बनाएर क्याच आउट भए । अन्तिमक्रममा ब्याटिङमा आएका बसन्त रेग्मी पनि ६ रन जोडेपछि क्याच आउट भए ।
लगातार विकेट गुमाएको नेपालका लागि शक्ति गौचन २८ बल खेल्दै १५ रन बनाएको अवस्थामा क्याच आउट भए ।
अन्तिममा सागर पुनले २० रन जोडे भने सोमपाल कामी २१ बलमा ११ रन जोड्दै नटआउट रहे ।
नेपालले अर्को खेल २२ वैशाख विहान हङकङसँग खेल्ने छ ।
