समाचारसोमबार, बैशाख २२, २०७१
नेपालले हङकङलाई सात विकेटले हरायो
एएफसी प्रिमियर लिग अन्तर्गत २२ वैशाखमा भएको खेलमा नेपालले ३४.१ ओभरमा १४४ रनको लक्ष्य सजिलै पूरा गरेको छ ।
टस हारेर पहिलो ब्याटिङ गरेको हङकङले १८१ रन बनाए पनि खेलका क्रममा पानी परेपछि १२ ओभर छोट्याएर नेपाललाई १४४ रनको लक्ष्य दिइएको थियो ।
नेपालका तर्फबाट कप्तान पारस खड्का नट आउट रहँदै ४३ र नरेश बुढाऐरले ४१ रन बनाए । त्यसैगरी शरद भेसवाकरले १९, सुवास खकुरेलले १६ र ज्ञानेन्द्र मल्लले १५ रन बनाएका थिए । नेपालले एक्स्ट्रा १३ रन पाएको थियो ।
हङकङले ओपनर इर्फान अहमदको १०६ रनको मद्दतमा ४१ दशमलव ५ ओभर खेल्दै १८१ रन बनाएको थियो ।
नेपालका लागि सात ओभर बलिङ गरेका सोमपाल कामीले ३४ रन खर्चिएर ४ विकेट लिए । म्यान अफ द म्याच पनि इरफान नै घोषित भएका छन् ।
सिनियर राष्ट्रिय टीममा पहिलो पटक खेलेका आरिफ सेफले ९ ओभरमा ३० रन दिएर महत्वपूर्ण २ विकेट लिए ।
त्यस्तै वसन्त रेग्मीले ३ विकेट लिए । हङकङले अतिरिक्त ७ रन पाएको थियो ।
यसअघि नेपालले युएई र मलेशियालाई हराइसकेको छ भने २१ वैशाखमा भएको खेलमा ओमानसँग २ विकेटले पराजित भएको थियो ।
हङकङलाई ७ विकेटले पराजित गरेपछि ६ अंक जोडेको नेपाल दोस्रो स्थानमा उक्लिएको छ ।
नेपालसंगै अफगानिस्तान र ओमानको पनि समान ६/६ अंक छ । रन रेटका आधारमा अफगान शीर्ष स्थानमा छ भने नेपाल दोस्रो र ओमान तेस्रो स्थानमा छ ।
