थप समाचारसोमबार, बैशाख २२, २०७१
द्वन्द्वका अपवाद, धनगढीमा मानबहादुर
१० वर्षअघि हिंसात्मक द्वन्द्वले दार्चुलाबाट विस्थापित भई कैलालीमा बसाईँ सरेका मानबहादुर साउदले धनगढीमा खोलेको ‘चौलानी पुस्तक भण्डार’ मा नेपालमा उपलब्ध सबैखाले पुस्तक र स्टेशनरी सामान पाइन्छ । यसरी उनले ‘सुदूरपश्चिममा पनि राम्रा पुस्तक पाइन्छन् र !’ भन्ने भनाइलाई बदलिदिएका छन् ।
महेन्द्रनगर र नेपालगञ्जमा समेत पसल विस्तार गरेका साउदले अहिले काठमाडौंमा ‘संगम पब्लिकेशन’ र छापाखाना पनि सञ्चालन गरिरहेका छन् । छापाखानामा भने उनका अरू साझ्ेदार पनि छन् ।
पाँच दाजुभाइमध्ये काहिंला उनले कान्छो भाइ समेतलाई यो व्यवसायमा तानेका छन् । निरन्तर व्यावसायिक उकालो चढिरहेका उनी १० वर्षमा करीब रु.१५ करोड कमाएको बताउँछन् ।
“बाख्रापालनका निम्ति लिएको ऋणबाट थालेको नयाँ व्यवसायबाट पैसाभन्दा ठूलो कुरा विश्वसनीयता र ख्याति कमाइयो”, साउद भन्छन् ।
व्यावसायिक उकालो
२०५७ मा कृषि विकास ब्याङ्कबाट लिएको रु.२५ हजार ऋणबाट गोकुलेमा पसल शुरू गरेका साउद तीन वर्षको अवधिमा दार्चुलामै पनि नामी पुस्तक व्यापारी बनिसकेका थिए ।
जिल्लाका पुस्तक बिक्रेताहरूले लगाएको पुस्तक किन्दा कापी किन्नैपर्ने ‘नियम’ विपरीत आफ्नो आवश्यकता अनुसार किन्दा पुग्ने जस्ता सहुलियतबाट उनले सबभन्दा धेरै ग्राहक बनाएका थिए ।
“मलाई पहाडमा एक सेट किताबसँगै एक ठेली कापी किन्नुपर्ने बाध्यताको नियम कहिले हटाउँ भन्ने लागेको थियो”, साउद भन्छन्, “म र मेरो परिवारले समेत भोगेको त्यो समस्या हटाउँदा व्यावसायिक नाफा समेत भयो ।”
उनको व्यापार चम्किनुमा यही कुरा महत्वपूर्ण बन्यो । त्यसवेला उनी जीविकोपार्जनकै लागि गाउँ–गाउँ डुलेर मानिसहरूको फोटो पनि खिच्ने गर्थे । तर, बढ्दो माओवादी हिंसाले सुदूरपश्चिमोत्तरका यी उदीयमान व्यापारीलाई पनि छाडेन । दाजु प्रहरीमा रहेकाले उनी माओवादीको निशाना बने । एक बिहान एक हूल माओवादी आएर उनको पसलमा आफ्नो मुखपत्र जनादेशका केही प्रति र एक झेला बम छोडेर हिंडे ।
यो खबर डढेलो जसरी फैलिंदै बैतडीस्थित सैनिक ब्यारेकमा पुग्यो । सर्चमा आएको सैनिक टोली संजोगले बमको झेला राखेको पसलभित्रपट्टिको फोटो धुलाउने साउदको ‘डार्करुम’ मा गएन । उनी भन्छन्, “नत्र त्यो दिन मलाई सेनाले के गथ्र्यो, थाहा छैन ।”
सेनाले बजारका मान्छेहरूसँग जनादेश पत्रिकाबारे सोधखोज गर्दा ‘पत्रिका बेच्ने त साउदहरू हुन्’ भन्ने जवाफ पाएको थियो । कुटपिट गर्ने तयारी साथ सैनिकहरूले त्यसबारे सोधेपछि ‘मलाई मात्र हैन, बजारका सबैलाई बाँडेका छन्, पत्रिका घरमा छ, लिएर आउँछु भन्दै पसलबाट निस्किए । त्यसरी हिंडेका साउदले धनगढी पुगेपछि सास फेरे ।
मंसीरमा धनगढीमा पुस्तक पसल खोल्ने निधो गर्दा उनीसँग दाजुहरूले जुटाइदिएको समेत गरी रु.१ लाख ७५ हजार थियो । उनले रु.२० हजार अग्रिम घरभाडा र साइनबोर्ड आदिमा रु.४० हजार खर्चेर रु.१ लाख १५ हजारमा पुस्तक पसल खोले ।
त्यसरी एउटा सटरबाट शुरू भएको पसल अहिले विशाल ‘चौलानी पुस्तक भण्डार’ बनेको छ । “इमान्दार र मिहिनेत भयो भने सफल भइँदो रै’छ”, साउद भन्छन् ।
दार्चुलामा पुस्तक पसल शुरू गर्दा उनी ओभरसियर पढ्न जाने योजनामा थिए । तर, व्यापार राम्रो हुन थालेपछि उनी त्यसमै भुलेका थिए । उनको परिवारका कोही व्यापारमा लागेका थिएनन्, न त तराई नै झ्रेका थिए । तर, यी दुवै काम गरेका उनी अब शिक्षा क्षेत्रका सबै सामग्री एकै ठाउँमा पाइने ‘एजुकेशन डिपार्टमेन्टल स्टोर’ खोल्ने योजनामा छन् ।
त्यसका लागि उनले काठमाडौंमा आँखा लगाइसकेका छन् । “सबै कुराका डिपार्टमेन्टल स्टोर छन्, तर शैक्षिक सामग्रीको छैन” उनी भन्छन्, “त्यही कारण तला–तलामा पुस्तक, स्टेशनरी, खेलकुद, संगीत, विज्ञान ल्याब र पुस्तकालय चलाउने योजना छ ।”
रामेश्वर बोहरा

