समाचारसोमबार, बैशाख २२, २०७१
नेपाल एसीसी च्याम्पियनसीपमा छानियो
यो जितसँगै नेपाल आगामी डिसेम्बरमा संयुक्त अरब इमिरेट्स (युएइ) मा हुने एसीसी च्यापियनसीपका लागि छनोटसमेत भएको छ ।
एसीसी प्रिमियर लिगमा उत्कृष्ट चारभित्र पर्ने टोलीले एसिसी च्यापियनसीपका लागि छनोट हुन पाउने व्यवस्था छ ।
जारी लिगमा ६ अंक जोडेको नेपाल दोस्रो स्थानमा उक्लिएको छ । नेपालसंगै अफगानिस्तान र ओमानको पनि समान ६र६ अंक छ । रन रेटका आधारमा अफगान शीर्ष स्थानमा छ भने नेपाल दोस्रो र ओमान तेस्रो स्थानमा छ ।
मलेशियाको क्वालालम्पुरस्थित वायुमास क्रिकेट मैदानमा भएको एसीसी प्रिमियर लिग प्रतियोगिता अन्तर्गत आफ्नो चौथो खेलमा नेपालले २३ बल बाँकी छँदै हङकङलाई ७ विकेटले पराजित गरेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको हङकङले ४१ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १८१ रन बनाएको थियो ।
नेपालको ब्याटिङको क्रममा २७ दशमलव ४ ओभरको खेलपछि वर्षा हुन थालेपछि निर्धारित ५० ओभरको खेललाई डकवर्थ लेबिसका आधारमा १२ ओभर छोट्याएर ३८ ओभरमा झारिएको थियो ।
निर्धारित १४४ रन नेपालले ३४ दशमलव १ ओभरमा ३ विकेट गुमाउँदै सजिलै नघायो ।
नेपालको जितका लागि कप्तान पारस खड्काले सर्वाधिक ४३ रनको योगदान दिए । उनले ६ चौकाको सहयोगमा ४३ रन जोडेका हुन् । यस्तै, नरेश बुढाऐरले पनि ६ चौकाको मद्दतमा ४१ रन बनाए ।
शरद भेषवाकरले १९, सुवास खकुरेलले १६ तथा ज्ञानेन्द्र मल्लले १५ रनको योगदान दिए । शरदले ३, सुवासले २ तथा ज्ञानेन्द्र मल्लले ३ चौका प्रहार गरेका थिए । यसैगरी बलिङतर्फ नेपालका सोमपाल कामीले ४ विकेट लिए भने वसन्त रेग्मीले ३ तथा आरिफ शेखले २ विकेट लिए ।
हङकङका लागि इरफान अहमद एक्लैले सर्वाधिक १०६ रनको योगदान दिएका थिए भने रोय लामसामले १८ रन जोडे । यो जितसँगै नेपालले ६ अङ्क जोडेको छ ।
आजै भएको अर्को खेलमा अफगानिस्तानले ओमनलाई ५ विकेटले पराजित गरेको छ भने युएइले मलेसियालाई ६ विकेटले हरायो ।
