समाचारमंगलबार, बैशाख २३, २०७१
एमाले महाधिवेशनको मिति सर्यो
केन्द्रीय कार्यालय बल्खुमा २२ वैशाखमा बसेको केन्द्रीय समितिको बैठकले महाधिवेशनको मिति आगामी असार १९ देखि २५ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ । यसअघि महाधिवेशको मिति जेठ २४ देखि ३० गतेसम्म गर्ने तय गरेको थियो ।
पार्टी अध्यक्ष झलनाथ खनालको २३ वैशाखदेखि शुरु हुने चीनको भ्रमण र संसदीय दलका नेता केपी शर्मा ओलीको स्वास्थ्य उपचार थाइल्यान्डमा भइरहेका कारण महाधिवेशनको मिति सार्ने प्रस्ताव अध्यक्ष खनालले राखेका थिए ।
एमालेका प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीका अनुसार अध्यक्षको चीन भ्रमण र नेता ओलीको स्वास्थ्य स्थितिलाई ध्यानमा राखि महाधिवेशनको मिति पर सरेको हो ।
यस्तै बैठकमा महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनका विषयमा समेत मतैक्यता भएको बताइएको छ ।
सल्लाहकार र ज्येष्ठ कम्युनिस्ट मञ्चका सदस्यहरूलाई पनि स्वतः प्रतिनिधि बनाउने निधोसमेत बैठकले गरेको छ । विभिन्न जनवर्गीय सङ्गठनका अध्यक्ष र जिल्ला अध्यक्षहरूलाई पनि स्वतः प्रतिनिधि बनाउने प्रस्ताव केही केन्द्रीय सदस्यहरूले बैठकमा राखे पनि सो प्रस्ताव भने पारित हुन सकेन ।
बैठकमा अध्यक्ष खनालले ३० जेठमा एकैदिन मुलुकभरि नै प्रतिनिधिको छनौट गर्ने अध्यक्ष खनालको प्रस्ताव पनि पारित भएको छ ।
यस्तै सदस्यता नवीकरणको म्याद भने थप गरिएको छैन । महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक दस्तावेजको मस्यौदालाई अन्तिम रूप दिनका लागि आगामी जेठ ११ देखि १३ गतेसम्म केन्द्रीय समितिको बैठक बस्ने निर्णयसमेत बैठकले गरेको छ ।
रासस
