थप समाचारमंगलबार, बैशाख २३, २०७१
संकटमा खैरो लाटोकोसेरो
माछा र किरा फट्याङ्ग्रा खाने ‘ब्राउन फिस अउल’ प्रजातीको मलाहा हुचिल (खैरो लाटोकोसेरो) विदेशमा तस्करी हुने गरेको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रमेश थापा बताउँछन् ।
जंगल क्षेत्रका प्राकृतिक तालमा अनियन्त्रितरुपमा माछा मार्ने प्रवृत्ति, नदीहरुमा विषादीको प्रयोग र प्राकृतिक तालहरुको व्यवसायिकरणले गर्दा पनि लाटोकोसेरोको आहारामा संकट परेको थापा बताउँछन् । त्यसैगरी सुकेका रुखहरु जंगल क्षेत्रमा नहुँदा लाटोकोसेरोको वासस्थान संकटमा पर्दै गएको छ । दिनमा दृष्टि कमजोर हुने लाटोकोसेरोले सुकेका रुखहरुमा गुँड लगाउँछ भने उनीहरुको प्रजनन् पनि सुकेका रुखहरुमै हुन्छ ।
नेपालमा यो प्रजातीको लाटोकोसेरोको यकिन तथ्यांक नभएपनि बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, चितवन लगायत तराइका जिल्लाहरुमा पाइने बर्दियाका चराविज्ञ रामवहादुर शाहीले जानकारी दिए ।
समुन्द्र सतह देखि १ हजार ५२५ मीटरको उचाइँमा पाईने यो लाटोकोसेरो नेपाललगायत भारतमा पनि पाइन्छ । जैविक विविधताको सहयात्री यस्ता प्रजातिका पंक्षीहरुको वासस्थान र आहाराको संरक्षण गर्नु जरुरी भएको शाहीको भनाई छ ।
पहिले पहिले बर्दियामा साँझपख प्रशस्तै देखिने लाटोकोसेरो अचेल देखिन छाडेको छ ।
लाटोकोसेरोको मासु खादा विभिन्न रोग निको हुने अन्धविश्वासले पनि यसको तस्करी हुने गरेको छ । भने केही मुलुकहरुमा यसको औषधी समेत बनाउने गरिन्छ ।
केही दिन अघि बर्दियाको राजापुर क्षेत्रमा पर्ने खैरीचन्दनपुरबाट भारततर्फ तस्करी हुँदै गरेको लाटोकोसेरो प्रहरीले वरामद गरेको थियो ।
चीन, इन्डोनेशिया, मलेशिया र खाडी मुलुकमा लाटोकोसेरोको माग अधिक हुने गरेको छ ।
भावुक योगी, बर्दिया

