थप समाचारमंगलबार, बैशाख २३, २०७१
लालपूर्जा माग्दै किसानद्वारा आन्दोलन घोषणा
वर्षौंदेखि आफूले जोतभोग गर्दै आएकोे जग्गाको लालपुर्जा पाउनुपर्ने भन्दै किसानहरुले सम्बन्धित जिल्ला मालपोत कार्यालयमा धर्नासहित चरणवद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।
विर्ता उन्मुलन कानून बनेको ५५ वर्ष पुगिसके पनि किसानहरुले जग्गाको लालपूर्जा नपाएको भन्दै जिल्ला भूमिअधिकार मञ्च रसुवा र नुवाकोटले विर्तावालको नामको जग्गा जोतभोग गर्ने किसानका नाममा हुनुपर्ने माग राखेका छन् ।
रिपोर्टर्स क्लबमा २३ वैशाखमा पत्रकार सम्मेलन गर्दै किसानहरुले रसुवा र नुवाकोटका हजारौं परिवारका किसानहरु अझै पनि विर्ता जग्गा जोत भोग गर्न बाध्य भएको भन्दै यथाशिघ्र किसानहरुलाई जग्गाधनीपुर्जा दिनुपर्ने, मिलेमतोमा गैरकानूनी रुपमा कथित् विर्तावालाको नाममा जग्गा दर्ता गर्ने र गराउने सरकारी कर्मचारीलाई कारवाही गर्नुपर्ने लगायत ५ बुँदे माग राखेका छन् ।
रसुवा र नुवाकोटका गरी करिब २३ सय परिवारले पुस्तौंदेखि जोतभोग गर्दै आएको जग्गा अझै आफ्नो नाममा पाएका छैनन् ।
विर्ता उन्मूलन ऐन, २०१६ ले नै विर्ता उन्मुलन गरेर जग्गामा किसानको अधिकारलाई सुरक्षित गरेपनि रसुवा, नुवाकोटसहित विभिन्न जिल्लाका गरिव किसानहरूले जग्गामा आफ्नो स्वामित्वको प्रमाणपत्र पाएका छैनन् ।
