थप समाचारबुधबार, बैशाख २४, २०७१
सधै जोखिममा कोसीपारिका आमाहरू
छेस्काम–९ सोलुखुम्बुका जस्नामाया कुलुङलाई सुत्केरी व्यथा लागेको चार दिन भयो ।
दुई दिनसम्म घरमै राखेपछि उनलाई स्ट्रेचरमा दुई दिन बोकेर मङ्गलबार अबेर फाप्लु अस्पतालमा ल्याइयो । बच्चाको हातमात्र बाहिर निक्लेको अवस्थामा अस्पताल पुर्याइएकी जस्नमायाले राति छैटौ सन्तानलाई जन्म दिइन् । सौभाग्य– २८ वर्षीया कुलुङको ज्यान बच्यो ।
बच्चा आंशिक बाहिर निस्केको अवस्थामा दुई दिनको बाटो स्ट्रेचरमा बोक्नु साँच्चै जोखिमपूर्ण थियो । कुलुङलाई प्राथमिक स्वास्थ्य केन्द्र सोताङमा ल्याउँदा स्वास्थ्यकर्मीले ढिला भइसकेको हँुदा फाप्लु नै लानुपर्छ भनेपछि जिल्ला अस्पतालमा ल्याएको श्रीमान् विर्छेकुमार कुलुङले बताए ।
यस्तै घटना अघिल्लो दिन पनि भयो । लोखिमकी २१ वर्षीया सङ्गीता राईको ६ महिनाको गर्भ थियो । लगातार रक्तस्राव भएपछि उनलाई पनि डोको र स्ट्रेचरमा बोकेर फाप्लु ल्याइयो । घरमै लगातार दुई दिन रक्तस्राव भएपछि आधा बाटो डोकोमा र आधा बाटो स्ट्रेचरमा बोकेर निकै असहजताका साथ अस्पताल ल्याएको सङ्गीताका श्रीमान् अर्जुन कुलुङले बताए ।
कोसीपारिका दुर्गम गाउँहरूमा यस्ता घटना धेरै हुने गरेका छन् । बर्सेनि केही महिलाहरूले प्रशव व्यथाकै बेला ज्यान गुमाइरहेका छन् भने केहीले महँगोमा हेलिकोप्टर चार्टर गरेर काठमाडौँ पनि लाने गरेका छन् ।
एकातिर कलिलो उमेरमा बच्चा जन्माउनु, धेरै सन्तान जन्माउनु, गर्भवती हुँदा पर्याप्त पौष्टिक तत्व भएका खाना खान नपाउनु, नियमित गर्भ जाँच नगर्नु, गर्भवस्थामा कठिन शारीरिक परिश्रम पर्ने काम गर्नुलगायतका कारण त्यस क्षेत्रका गर्भवतीहरू जोखिममा रहने गरेको जिल्ला स्वास्थ्य कार्यालयका स्त्रीरोग तथा प्रजनन विभाग प्रमुख ल्हेमी शेर्पाले बताए । उनुभयो ।
उनँले गाउँगाउँमा प्रसूति केन्द्र सञ्चालनका साथमा धेरै बच्चा जन्माउन नहुने, गर्भावस्थामा ध्यान दनुपर्ने कुराबारे जानकारी पु¥याउनु पनि आवश्यक रहेको बताए ।
रासस
