समाचारबिहीबार, बैशाख २५, २०७१

सामुदायिक वन महासंघमा पारिवारिक प्रभुत्व

हिमालखबर

तुफान न्यौपाने, नेपालगञ्ज

एक परिवारबाट एक सदस्य हुने महासंघको विधान विपरित जिल्ला अध्यक्ष र सदस्यका परिवारका दुई/दुई जना महासंघमा प्रतिनिधित्व गरिरहेको खुलेको हो । महासंघ जिल्ला अध्यक्ष द्रोपति ओली रामजानकी सामुदायिक वन लक्ष्मणपुरबाट प्रतिनिधित्व गर्छिन् भने उनका पति युवक ओली ज्योति सामुदायिक वन कोहलपुरबाट प्रतिनिधित्व गर्दै लखना रेञ्जपोष्ट स्तरीय महासंघको अध्यक्ष बनेका छन् । उनी काठका ठेकेदार समेत हुन् ।

सामुदायिक वन उपभोक्ता महासंघ बाँकेकी अध्यक्ष द्रोपति ओली । तस्वीरः तुफान न्यौपाने

कोहलपुर निवासी महासंघ अध्यक्ष ओली राजनीति गर्नकै लागि ४० किलोमिटर टाढाको रामजानकी सामुदायिक वन लक्ष्मणपुरबाट प्रतिनिधि बनेर आएकी हुन् । उनी उक्त वनकी उपभोक्ता पनि होइनन् । फर्जी उपभोक्ता बनेर उनले महासंघको नेतृत्व हत्याएकी थिइन् ।

त्यस्तै, महासंघका जिल्ला सदस्य डिल्ली रावत पनि पत्नीसँगै सामुदायिक वनका पदाधिकारी हुन् । डिल्लीले भवगती सामुदायिक वन फत्तेपुरबाट प्रतिनिधित्व गर्छन् भने महासंघको आसन्न जिल्ला अधिवेशनलाई लक्षित गर्दै उनले पत्नी खगिसरी रावतलाई बवनपुरुवा सामुदायिक वन कम्दीबाट प्रतिनिधि बनाएका छन् । खगिसरालाई रेञ्जपोष्ट स्तरीय महासंघले पनि प्रतिनिधि चुनिसकेको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ बाँकेको अधिवेशन यही २९ वैशाखमा हुँदैछ । उक्त अधिवेशनलाई लक्षित गरेर राजनीति गर्नकै लागि दोहोरो उपभोक्ता बन्ने गरेको महासंघ सम्बद्ध स्रोत बताउँछ ।

अध्यक्ष ओलीले वन ऐन संशोधन भई नसकेकाले एकै घरका व्यक्ति पनि समितिमा बस्न पाइने दाबी गरेकी छन् । तर, सहायक वन अधिकृत गणेश खड्काले एकै परिवारका व्यक्ति उपभोक्ता समूहका सदस्य बन्न नपाइने बताए । “कुनै हालतमा एक घरका दुई जना सदस्य बन्न पाइँदैन,” उनले भने,“बाँकेमा त्यस्तो भएको रहेछ भने बुझेर कारबाहीको प्रक्रिया अगाडि बढाउँछौ ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>