थप समाचारशुक्रबार, बैशाख २६, २०७१
ज्यान मुद्दाका दोषी ३० वर्षपछि पक्राउ
सुदूरपश्चिम क्षेत्रीय प्रहरीको विशेष टोलीले भीमदत्त नगरपालिका–४ गोवरैयाका ६० वर्षीय विश्वराम लुहारलाई पक्राउ गरेको छ । टोलीले जिल्ला प्रहरी कार्यालयमार्फत उनलाई जिल्ला अदालत कञ्चनपुरमा बुझाएको छ । गोवरैयाका हरिसिंह साउदको हत्या अभियोगमा सर्वोच्च अदालतले २०४० मा लुहारलाई ६ महिनाको कैद सजाय तोकेको थियो ।
वि.सं २०३४ मा हत्याको आरोप लागेपछि फरार भएका उनलाई २३ वैशाख साँझ घरबाट पक्राउ गरिएको विशेष टोलीका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए ।
साउद हत्यामा संलग्नता रहेको भन्दै उनकी श्रीमती जसुदेवी साउदले छिमेकी तेजबहादुर चन्द र लुहारविरुद्ध उजुरी दिएकी थिइन् ।
जिल्ला अदालतले दुवैलाई आजीवन कारावास सजाय सुनाएपछि उनीहरू सर्वोच्च पुगेका थिए । सर्वोच्चले जिल्लाको निर्णय उल्ट्याउँदै छ महिनामात्र सजाय तोकेको थियो ।
रासस
