समाचारबिहीबार, भाद्र २१, २०६९
बहुजातीय प्रदेश सकारात्मकः चित्रबहादुर केसी
जनमोर्चा चितवनले २१ भदौमा भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष केसीले एमाओवादी, मधेसवादी र जातिवादीको हठका कारण संविधान बन्न नसकेको बताए । उनले एकल जातीय राज्य बनाउन नसकेपछि तीनै दलले अहिले बहुजातीय प्रदेशको पक्षमा वकालत गर्न थालेको बताए ।
केसीले बहुजातीय प्रदेशका पक्षमा समर्थन नगरे पनि सकारात्मक धारणा राखे । केसीले भने, ‘एकल जातीयभन्दा बहुजातीय प्रदेश सकारात्मक छ ।’ उनले एकात्मक राज्य प्रणालीअर्न्तर्गत विकेन्द्रीकरण गर्नुपर्ने जनमोर्चाको अडानमा कुनै परिवर्तन नभएको उल्लेख गरे ।
कार्यक्रममा केसीले एमाओवादी र तराईका दलबीच सत्ता लम्ब्याउन अपवित्र गठबन्धन भएको बताए । शतप्रतिशत समय थप गर्दा समेत नबनेको संविधान संविधानसभा ब्यूँताएर बन्न नसक्ने नेता केसीको ठोकुवा थियो ।
जनमोर्चा चितवनले यही २५ भदौदेखि सुरु गर्न लागेको एकमहिने जनपरिचालन कार्यक्रमका विषयमा जिल्ला अध्यक्ष मोहनमणि ढकालले जानकारी गराएका थिए ।रासस
