थप समाचारआइतबार, बैशाख २८, २०७१
जैविकमार्गमा बाघको खोजी
बच्चु विक, धनगढी
राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्षहरुमा बाघको संख्या वृद्धि भएको पाइएपछि सामुदायिक तथा राष्ट्रिय वनहरुमा रहेका जैविक मार्गमा पनि बाघको खोजी शुरु गरिएको हो । चुरे क्षेत्रसँगै जोडिएका जैविकमार्ग ब्रह्मदेव, माथिल्लो गौजी र बगुन क्षेत्रमा क्यामरा ट्रयापिङ्ग बिधिबाट बाघको अनुगमन थालिएको तराई भू–परिधि कार्यक्रम (ताल) धनगढीकी अनुगमन एवं मूल्याङ्कन अधिकृत कञ्चन ओझाले जानकारी दिइन् ।
“तीन ठाउँमा क्याम्प राखेर प्राविधिकहरुले बाघ र बाघको आहारको अनुगमन गर्न थालेका छन्,” उनले बताइन् । तराई क्षेत्रमा बाघ र बाघको आहारको अनुगमन गरिरहेको तालले नागरिक वैज्ञानिकहरु परिचालन गरेको छ ।
नागरिक वैज्ञानिकहरुसँगै डब्लूडब्लूएफ नेपाल, जिल्ला वन कार्यालयका १६ जना प्राविधिकहरुले २६ जोडी क्यामरा प्रयोग गरेर १५ दिन बाघको अनुगमन गर्ने छन् । बाघ अनुगमन कार्यक्रमको संयोजन गरिरहेकी ओझाले राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्षभन्दा बाहिरको क्षेत्रमा बाघ र बाघको आहारको अवस्थाका बारेमा जानकारी लिन पहिलोपटक जैविकमार्गहरुमा अनुगमन भइरहेको बताइन् ।
यसअघि कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्ष र बाँके राष्ट्रिय निकुञ्जमा अनुगमन गरिएको थियो । शुक्लाफाँटामा १७ बाघ भेटिएका छन् भने बाँकेको तथ्याङ्क सार्वजनिक गरिएको छैन ।
निकुञ्ज र आरक्षपछि जैविक मार्ग क्षेत्रमा अनुगमन भइरहेको छ भने कञ्चनपुरको लालझाडी संरक्षित वनमा एक बाघ भेटिएको छ । त्यस्तै, बाँकेको कम्दी, बर्दियाको खाता, कैलालीको बसन्ता, कर्णाली नदी किनार र मोहन जैविकमार्गहरुमा अनुगमन गरिसकिएको छ ।
ती क्षेत्रहरुको तथ्याङ्क सार्वजनिक गरिएको छैन । कञ्चनपुरको ब्रह्मदेव, माथिल्लो गौजी र बगुनमा बाघ र बाघको आहारको अनुगमन सकिएपछि सबै क्षेत्रको तथ्याङ्क सार्वजनिक गरिने जनाएको छ ।

