समाचारआइतबार, बैशाख २८, २०७१
तीन जिशिअसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियारले सरकारी अनुदान रकम हिनामिना गरी भ्रष्टाचार गरेको भन्दै १४ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । सरकारले विभिन्न शिर्षकमा निकासा गरेको अनुदान रकम दुरुपयोग भएको ठहर गर्दै अख्तियारले उनीहरु विरुद्ध मुद्दा दायर गरेको जनाएको छ ।
अख्तियारले सप्तरीका तत्कालिन जिल्ला शिक्षा अधिकारीहरु केदार तिवारी, शत्रुधन यादव र दोलराज
पाण्डेविरुद्ध मुद्दा दायर गरेको छ । यस्तै, सप्तरी गम्हरिया, प्रवाहा–४ पट्टीप्रवाहस्थित राष्ट्रिय प्राथमिक विद्यालयका निमित्त प्रधानाध्यापक सत्यनारायण पासवान, तत्कालिन प्रधानाध्यापक चन्द्रदेवकुमार यादव, जिशिका सप्तरीका लेखा अधिकृत कामेश्वर साह, सव–इन्जिनियरहरु विनोदकुमार सिंह, योगेशकुमार साह, उपेन्द्रप्रसाद साह, भूपेन्द्रप्रसाद यादव, कार्यक्रम अधिकृत विजयकुमार मण्डल, स्रोत व्यक्तिहरु रासिन्द्रप्रसाद यादव, सुनिलप्रसाद प्रसाद र लेखापाल गणेश कटुवाल विरुद्ध पनि मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।
अख्तियारको अनुसार उनीहरुले आर्थिक वर्ष २०६४÷०६५ देखि २०६८÷०६९ सम्ममा भौतिक संरचना निर्माण, मर्मत, कम्प्यूटर खरीद, समुदाय व्यवस्थापन, छात्रवृत्ति, खाजा वितरण लगायतका शीर्षकमा निकासा रकम हिनामिना गरेका छन् । उनीहरु विरुद्ध अख्तियारले रु.४९ लाख ५२ हजार १५२ माग दावी गरेको छ ।
