समाचारमंगलबार, बैशाख ३०, २०७१
संसदीय सुनुवाई समितिले न्यायपरिषद पदाधिकारीलाई बोलायो
सर्वोच्च अदालतमा नियुक्तिका लागि गरेको न्यायाधीश सिफारिशबारे बुझ्न संसदीय सुनुवाई विशेष समितिले न्यायपरिषदका सबै सदस्यलाई बोलाउने निर्णय गरेको हो । समितिको ३० बैशाखमा बसेको बैठकले न्यायाधीश सिफारिशको सम्बन्धमा न्यायपरिषदसँगै छलफल गर्ने निर्णय गरेको हो ।
बैठकमा अधिकांश सभासदले विवादास्पद छवि भएका न्यायाधीश सिफारिश गर्ने न्यायपरिषदका पदाधिकारीसँगै छलफल गर्नुपर्ने बताएपछि समितिले उनीहरुलाई बोलाउने निर्णय गरेको हो । तर, न्यायपरिषदका पदाधिकारीलाई बोलाउने मितिको भने टुंगो लागेको छैन ।
बैठकमा कांग्रेस सभासदले भने न्यायाधीश विरुद्ध उजुरी गर्नेलाई मात्र समितिमा बोलाउनु पर्ने अडान राखेका थिए । एमाले, एमाओवादी लगायतका सभासदले विवादास्पद छवि भएका न्यायाधीशलाई न्यायपरिषदले सिफारिश गरेकाले न्यायपरिषदका पदाधिकारीलाई नै बोलाएर छलफल गर्नुपर्ने जिकिर गरेका थिए ।
सर्वोच्च अदालतको स्थायी न्यायाधीश नियुक्तिका लागि न्यायपरिषदले ९ बैशाखमा ८ जनाको नाम सिफारिश गरेको थियो । सिफारिश हुनेमा न्यायाधीशहरु वैद्यनाथ उपाध्याय, गोपाल पराजुली, दीपकराज जोशी, गोविन्द्रकुमार उपाध्याय, देवेन्द्रगोपाल श्रेष्ठ, ओमप्रकाश मिश्र, चोलेन्द्रशमशेर राणा र जगदशी शर्मा पौडेल छन् ।
सिफारिश भएका न्यायाधीशविरुद्ध २२ उजुरी परेका छन् । उनीहरुमध्ये केहीको नैतिक चरित्र, आचरण तथा कार्य सम्पादनमाथि प्रश्न उठाइ उजुरी परेको छ ।
