समाचारमंगलबार, बैशाख ३०, २०७१
उज्जन हत्याकाण्डका दोषी गौतम जेल चलान
ओखलढुंगा पोकली–२ लेतीका भुवन भनिने उज्जनकुमार श्रेष्ठको हत्या दोषी गौतमलाई ३० बैशाख साँझ ५.३० बजे कारागार चलान गरिएको हो । उनलाई ३० बैशाख दिउँसो राजधानीस्थित बागबजारबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको थियो ।
सीआईबीका प्रहरी उपरीक्षक सुरेशविक्रम शाहले जिल्ला अदालत ओखलढुंगाले गरेको फैसलाको प्रतिलिपीसहित गौतमलाई जिल्ला अदालत काठमाडौं बुझाइएको र अदालतले कारागार पठाएको हिमालखबरसँग बताए ।
फैसला कार्यान्वयन इकाईले पठाएको सूचिका आधारमा उनलाई पक्राउ गरिएको शाहले जानकारी दिए ।
———————————————————————————————————————————————
उज्जन हत्याकाण्डका दोषी गौतम पक्राउ
उज्जन हत्याकाण्डका फरार दोषी पुष्कर गौतम पक्राउ परेका छन् । ओखलढुंगा पोकली–२ लेतीका भुवन भनिने उज्जनकुमार श्रेष्ठको हत्या दोषी पुष्कर गौतमलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई ३० बैशाख दिउँसो राजधानीस्थित बागबजारबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमकुमार कार्कीले ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या मुद्दामा उनलाई पक्राउ गरिएको हिमालखबरलाई जानकारी दिए ।
ओखलढुंगा जिल्ला अदालतले ७ चैत २०६९ मा एमाओवादी पूर्व सभासद बालकृष्ण ढुंगेलसँगै आरोपी गौतमलाई हत्याको दोषी ठहर गर्दै सर्वस्वहरणसहित जन्मकैदको फैसला सुनाएको थियो । त्यसअघि १९ पुस २०६६ मा सर्वोच्च अदालतले पनि माओवादी सभासद ढुंगेल विरुद्ध जन्मकैदको फैसला सुनाएको थियो ।
श्रेष्ठ हत्याको बखत गौतम तत्कालिन माओवादीका जिल्लास्तरीय नेता थिए । हत्या अभियोग लागेदेखि नै उनी फरार थिए । ओखलढुंगा पोकली–२ लेतीका श्रेष्ठको १० असार २०५५ मा हत्या भएको थियो ।

