थप समाचारबुधबार, बैशाख ३१, २०७१

पूर्वाञ्चलमा पनि ट्राउट माछा उत्पादन शुरु

हिमालखबर

लक्ष्मी गौतम, पाँचथर

पाँचथरका युवा व्यवसायीको पहलमा ट्राउट माछा उत्पादन परीक्षण शुरु भएको हो । मत्स्य अनुसन्धान महाशाखाको प्राविधिक सहयोगमा चिलिङदिन र पौवा सारतापको सिमाना निवु खोलामा माछा उत्पादन शुरु गरिएको छ ।

तस्वीरहरुः लक्ष्मी गौतम

खोलामा मत्स्य अनुसन्धान महाशाखा गोदावरीबाट ल्याइएको चार हजार भूरा छाडिएको महाशाखाका वरिष्ठ प्राविधिक अधिकृत राजामान मुल्मीले जानकारी दिए । माछा उत्पादनका लागि स्थानीय युवा व्यवसायी दीपेन्द्र आङबो, किरण श्रेष्ठ, सुजन नेम्बाङ, भेषराज थापा र टिका श्रेष्ठले निवु खोलाको किनारमा तीन रोपनी जग्गा भाडामा लिइ पोखरी निर्माण गरेका छन् ।

स्थानीय व्यवसायीले व्यवसायिक उत्पादनका लागि आग्रह गरेपछि महाशाखाले अनुदान स्वरुप भूरा उपलब्ध गराएको वरिष्ठ प्राविधक अधिकृत मुल्मीले बताए । महाशाखाले त्यसअगावै ट्राउट माछाका लागि अनुकूल वातावरण भए–नभएको प्रारम्भिक परीक्षण गरेको थियो ।

उनले त्यहाँ ट्राउट उत्पादनका लागि उपयुक्त रहेको परीक्षणबाट देखिएको जानकारी दिए ।

नेपालमा पहिलोपटक सन् १९८८ मा जापानबाट भूरा आयात गरेर ट्राउटको उत्पादन थालिएको थियो ।

राजधानी नजिकका नुवाकोट, रसुवा, सिन्धुपाल्चोक र कास्कीमा भने ट्राउटको व्यवसायिक उत्पादन हुने गरेको छ । एक वर्षमा बिक्रीयोग्य हुने ट्राउट माछाको मूल्य प्रतिकिलो रु.१ हजार ६०० सम्म पर्ने गर्छ ।

ट्राउट माछाको राम्रो सम्भावना देखेपछि निवु खोलामा व्यवसायिक उत्पादनका लागि परीक्षण शुरु गरेको व्यवसायी किरण श्रेष्ठले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>