समाचारबुधबार, बैशाख ३१, २०७१

एमालेमा गुटगत भेला तीब्र

हिमालखबर

तुफान न्यौपाने, नेपालगञ्ज

नजिकिदोँ नवौं महाधिवेशनसँगै एमाले नेताहरुले गुटगत भेलालाई तीब्रता दिएका हुन् । यसै साता मात्र एमाले शीर्ष नेताहरुले भेरी अञ्चलमा दुई छुट्टाछुट्टै अञ्चलस्तरीय कार्यक्रम गरे ।

‘नेपालको समाज विकास र राजनीतिक कार्यभार’ विषयक भेरी अञ्चलस्तरीय विचार गोष्ठीमा सहभागी एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र उनी पक्षधर नेताहरु । तस्वीरहरुः तुफान न्यौपाने

२०६४ को संविधानसभा निर्वाचनको क्रममा मारिएका एमाले उम्मेदवार ऋषि शर्माको सम्झनामा स्थापित ‘ऋषि स्मृति प्रतिष्ठान’ को नाममा सुर्खेतमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय भेला सम्पन्न भए लगत्तै नेपालगञ्जमा एमाले नेता केपी ओली पक्षले भेरी अञ्चल भेला आयोजना गरे ।

भेरी अञ्चलस्तरीय कार्यकर्ता भेलालाई संबोधन गर्दै एमाले उपाध्यक्ष बामदेव गौतम ।

प्रतिष्ठानका अध्यक्ष डण्डीप्रसाद शर्माको अगुवाइमा २६ र २७ वैशाखमा भएको ‘नेपालको समाज विकास र राजनीतिक कार्यभार’ विषयक विचार गोष्ठीमा वरिष्ठ नेता नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, प्रकाश ज्याला, त्रिलोचन ढकाल, दलबहादुर सुनार, गोविन्द कोइराला लगायत नेता पुगेका थिए ।

सुर्खेतको कार्यक्रम सकेर नेता नेपाल बर्दिया जिल्ला कमिटीको बैठक सम्बोधन गर्न गएका थिए भने प्रकाश दाङको कार्यक्रममा सहभागी भए, अरु नेता सिधै काठमाडौं फर्किए ।

त्यसको तीन दिन पछि ३० वैशाखमा ओली पक्षीय नेताहरूको भेला नेपालगञ्जमा भयो । अञ्चल समन्वय समितिको नाममा आयोजना गरिएको कार्यकर्ता भेलामा संयोजक बाँके क्षेत्र नम्बर–१ का सभासद् देवराज भारले औपचारिक निर्णय बिना कार्यक्रम गरेको भन्दै सह–संयोजक गौरा प्रसाई, अञ्चल समितिमा रहेका वैकल्पिक केन्द्रीय सदस्य बाँके क्षेत्र नम्बर–४ का सभासद् दलबहादुर सुनार लगायत नेता सहभागी भएनन् ।

नेपालगञ्जको कार्यक्रममा उपाध्यक्ष बामदेव गौतम, ईश्वर पोखरेल, शंकर पोख्रेल, किरङ गुरुङ लगायत नेता आएका थिए ।

सुर्खेतमै आयोजना भएको कार्यक्रममा सहभागी नभएका सुर्खेतका पूर्वमन्त्री यमलाल कडेँल, जिल्ला अध्यक्ष नवराज रावत र प्रचार विभाग प्रमुख टेकेन्द्र बस्नेत नेपालगञ्जको कार्यक्रममा आएका थिए । यता, बाँकेका सभासद् सुनार सुर्खेतको कार्यक्रममा सहभागी हुन गए पनि नेपालगञ्जको कार्यक्रममा भने देखिएनन् ।

एमाले अञ्चल कमिटी सदस्य निरज आचार्य महाधिवेशन नजिकिँदै गर्दा गुटगत भेला हुनु स्वभाविक भए पनि कमिटी प्रणालीको दुरुपयोग गरेर संगठनको औपचारिक नाममा गुट भेला गर्दा सांगठनिक अराजकता बढ्ने बताउँछन् ।

भेरी अञ्चल समन्वय कमिटीले नेपालगञ्जमा आयोजना गरेको अञ्चलस्तरीय कार्यकर्ता भेलामा सहभागी ओली पक्षीय नेताहरु ।

सुर्खेतमा आयोजित कार्यक्रममा भुसालले प्रशिक्षणमा जोड दिएको भए पनि अन्य अधिकांश नेताले ओली पक्षको खुबै आलोचना गरेका थिए भने नेपालगञ्जमा आयोजित कार्यक्रमका वक्ताहरूले पनि नेपाल पक्षको खुलेर आलोचना गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>