थप समाचारबिहीबार, जेठ १, २०७१
मकवानपुरका २ ठाउँमा दुर्घटना, तीनको मृत्यु
मकवानपुर, आग्रा गाविस–६ घलेपाखामा १ जेठ दिउँसो मिनिट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा आग्रा गाविस–६ का तेजबहादुर गोले, टिष्टुङ महांकालका वीरबहादुर गोलेको दुर्घटनास्थलमै मृत्यु भएको छ ।
आग्राको डाँडाबासबाट ढुंगा लिन घलेपाखा जाँदै गरेको बा १ क ७८६३ नम्बरको मिनिट्रक दुर्घटना भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । दुर्घटनामा आग्रा–६ का बिक्रम थिङ, क्षेत्रबहादुर थिङ र आग्रा–५ का पासाङ गोले घाइते छन् । उनीहरुलाई उपचारका लागि काठमाडौं लगिएको छ ।
चालक र सहचालक फरार रहेको र खोजि भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच, चिसापानी गढी मकवानपुर भीमफेदी गाविस–८ मा १ जेठ दिउँसो भएको सवारी दुर्घटनामा परी एक स्वीडेनका नागरिकको मृत्यु भएको छ । हेटौंडाबाट काठमाडौं जाँदै गरेको ना १ ज ४८६७ नम्बरको रिजर्भ सुमो जीप दुर्घटना दुर्घटनामा परी उनको मृत्यु भएको हो ।
दुर्घटनामा अर्का स्वीडेनका नागरिक र काठमाडौं जोरपाटीका दोभाषे रितुराज गिरी घाइते भएका छन् । उनीहरुको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारका लागि काठमाडौं लगिएको छ ।
सुरजकुमार भुजेल, मकवानपुर
