समाचारशुक्रबार, भाद्र २२, २०६९
विद्यार्थीलाई ग्यासमा ३३ प्रतिशत छुट दिने प्रमको प्रतिबद्धता
अनेरास्ववियु (क्रान्तिकारी), संयुक्त लोकतान्त्रिक मधेसी मोर्चानिकट विद्यार्थी सङ्गठनलगायत आठ विद्यार्थी सङ्गठनको संयुक्त ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री भट्टराईले विद्यार्थीसँग सरकारले गरॆका पूर्वसहमति चाँडै कार्यान्वयन गर्ने आश्वासन दिएका हुन । सरकारले पेट्रोलियम पदार्थमा मूल्य बढाएपछि विद्यार्थी सङ्गठन १९ भदौदेखि आन्दोलनमा छन् । आन्दोलनका क्रममा उनीहरुले दैनिक बिहान १० बजेसम्म कलेज अगाडि गाडीको आवतजावत अवरुद्ध गर्दै आएका छन् ।
प्रधानमन्त्रीसँग विद्यार्थी सङ्गठनले अमेरिकी कम्पनीद्वारा उत्पादित जुत्तामा बुद्धको तस्बीर राखिएको विषयप्रति सरकारी धारणा प्रस्ट पार्न माग गरेका थिए । उनीहरुले मनोरन्जनका नाममा नेपाली चलचित्रका अश्लील तस्बीर बजारमा यत्रतत्र टाँस गर्ने कार्यमा पनि नियन्त्रण गर्न माग गरेका थिए ।
मधेसी विद्यार्थी फोरम लोकतान्त्रिकका अध्यक्ष कपलेश्वर यादवका अनुसार प्रधानमन्त्री भट्टराईले बुद्धको तस्बीर जुत्तामा राख्ने कम्पनीलाई नेपालमा निषेधित गर्ने तथा अमेरिकी सरकारलाई पनि उक्त कम्पनी खारेज गर्न आग्रह गर्ने आश्वासन दिएका छन् ।
प्रधानमन्त्रीले काठमाडौँ महानगरपालिकालाई बजारमा टाँसिएका चलचित्रका अश्लील पोस्टर हटाउन आजै निर्देशन दिने बताएको यादवले जानकारी दिए । रासस
