समाचारआइतबार, जेठ ४, २०७१
यातायात कार्यालय प्रमुखसहित १२ पक्राउ
अख्तियारले ४ जेठ दिउँसो यातायात व्यवस्था कार्यालयमा छापा मारेर चार कर्मचारीसहित १२ जनालाई हिरासतमा लिएको छ । कार्यालयका निमित्त कार्यालय प्रमुख रामदत्त भट्टसहित चार कर्मचारी र अन्य ८ जनालाई हिरासतमा लिएको अख्तियारका उपसचिव केशवप्रसाद घिमिरेले जानकारी दिए ।
सवारी चालक अनुमतिपत्र बनाउने, नविकरण गर्ने, रुट इजाजत प्रदान गर्ने लगायतका काममा भ्रष्टाचार गरेको उजुरीको आधारमा उनीहरुलाई हिरासतमा लिएको अख्तियारले जनाएको छ ।
पक्राउ पर्नेमा नविकरण शाखाका अधिकृतहरु रामेश्वर अर्याल र बालकुमार खतिवडा एवम् लेखा शाखाका अधिकृत तीर्थराज गौतम छन् ।
यस्तै, भ्रष्टाचारमा संलग्नता रहेको पाइएका मनकामना फोटोकपी सेन्टरका संचालकहरु टेकबहादुर महर्जन र विष्णुबहादुर थापा, एभरग्रीन फोटोकपी सेन्टरका अनिलकुमार पाण्डे, लेखापढी मञ्च संचालकहरु बिक्रम बिसी र विष्णुबहादुर थिङ्ग, लेखापढी व्यवसायी देवराज लामिछाने, कागजात संकलकहरु सानुकाजी देसार र विष्णु बस्नेतलाई पनि अख्तियारले हिरासतमा लिएको छ ।
उनीहरुलाई हिरासतमा राखिएको र अनुसन्धान अघि बढाइएको उपसचिव घिमिरेले जानकारी दिए ।
