समाचारबिहीबार, जेठ ८, २०७१

संविधानसभामा नभएका दलसँग वार्ताको तयारी

हिमालखबर

संविधानसभाअन्तर्गतको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले संविधानसभा बाहिर रहेका दल तथा समूहसँग वार्ता गर्न उपसमिति गठन गरेको छ । समितिको ८ जेठ बिहान बसेको बैठकले पाँच सदस्यीय वार्ता उपसमिति गठन गरेको हो ।

कानून, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्री समेत रहेका समिति सदस्य नरहरी आचार्यको संयोजकत्वमा उपसमिति गठन भएको छ । सदस्यमा अशोक राई, शक्ति बस्नेत, सर्वेन्द्रनाथ शुक्ल र सुरेन्द्र पाण्डे छन् ।

वार्ता उपसमितिले संविधानसभा बाहिर रहेका दल, सशस्त्र समूह र सरोकारवालासँग वार्ता गर्ने सभासद शिवलाल थापा मगरले जानकारी दिए । उनले वार्ता उपसमितिले आवश्यक परे गोप्य वार्ता समेत गर्न सक्ने बताए ।

राजनीतिक संवाद समितिले संविधानसभाले संविधानमा समेट्नु पर्ने विषयमा सुझाव तथा माग पेश गर्न संविधानसभा बाहिर रहेका दल तथा समूहलाई आह्वान गर्नेछ । समितिले ८ जेठमै त्यस्ता दल तथा समूहलाई आह्वान गर्ने सभासद थापा मगरले जानकारी दिए ।

यसैबीच, बैठकले अघिल्लो संविधानसभामा संविधान निर्माणको क्रममा देखिएका सहमति तथा असहमतिका विषयको पहिचान गर्न पाँच सदस्यीय असहमति निर्क्यौल उपसमिति गठन गरेको छ । गोकर्ण बिष्टको संयोजकत्वमा गठित उपसमितिको सदस्यमा बालकृष्ण खाँण, महेन्द्र राय यादव, शिवलाल थापा मगर र रेखा शर्मा छन् ।

उपसमितिले संविधानसभा भित्र तथा विभिन्न समूहसँग भएका सहमति/असहमतिलाई निर्क्यौल गरेर समितिलाई बुझाउने सभासद थापा मगरले जानकारी दिए । उपसमितिले एक साताभित्र अघिल्ला संविधानसभाका सहमति तथा असहमतिको पहिचान गरी समितिलाई बुझाउने छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>